Logout

चर्चामा

प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा पर्वतका ग्रामीण बस्तीमा बढ्दो चुनावी सरगर्मी

198 Shares

 

पर्वत, १८ माघ
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा पर्वत जिल्लाका ग्रामीण क्षेत्रमा चुनावी चहलपहल तीव्र बन्दै गएको छ। निर्वाचनको माहोल तातेसँगै विभिन्न राजनीतिक दल र उम्मेदवारहरू गाउँ केन्द्रित अभियानमा सक्रिय देखिएका छन्।

मतदातासँग प्रत्यक्ष भेटघाट, घरदैलो कार्यक्रम, कोणसभा तथा टोलसभा मार्फत उम्मेदवारहरूले आफ्ना विचार, नीति र कार्ययोजना सार्वजनिक गरिरहेका छन्। यसपटक पर्वत जिल्लामा १३ वटा राजनीतिक दलका उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।

नेपाली कांग्रेसबाट अर्जुनप्रसाद जोशी उम्मेदवार बनेका छन् भने नेपाल कम्युनिष्ट पार्टी ९एमाले० बाट पदम गिरी चुनावी मैदानमा छन्। यस्तै, नेपाल कम्युनिष्ट पार्टीबाट मनहरि शर्मा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट सागर भुसाल उम्मेदवार रहेका छन्।

कांग्रेसले पिपलटारीबाट, एमालेले दुर्लुङबाट, नेपाल कम्युनिष्ट पार्टीले राम्जादेउरालीबाट र राष्ट्रिय स्वतन्त्र पार्टीले फलेवासबाट आफ्नो चुनावी अभियानको सुरुवात गरेका छन्। हाल सबै दलका उम्मेदवारहरू टोल–टोल र घर–घर पुगेर मतदातासँग संवाद गरिरहेका छन्।

मतदाताहरूले स्थानीय विकासका मुद्दासँगै मुलुकमा बढ्दै गएको भ्रष्टाचार, बेथिति नियन्त्रणको आवश्यकता औँल्याएका छन्। साथै, ग्रामीण सडकको स्तरोन्नति, बाँदर आतङ्कको दीर्घकालीन समाधान, सिँचाइ सुविधा, गुणस्तरीय स्वास्थ्य सेवा र रोजगारीका अवसर सिर्जनालाई प्रमुख मागका रूपमा अघि सारेका छन्।

पर्वतका सातवटा पालिकाका ६१ वडामध्ये अधिकांश क्षेत्रमा कालोपत्र सडकको पहुँच पुगेको भए पनि अझै बस्ती तहसम्म गुणस्तरीय सडक निर्माण आवश्यक रहेको स्थानीयको भनाइ छ। विशेषगरी ग्रामीण क्षेत्रमा बाँदर आतङ्क जटिल समस्याका रूपमा रहेको जनाउँदै यसको प्रभावकारी समाधान खोज्न मतदाताले उम्मेदवारको ध्यानाकर्षण गराएका छन्।

उम्मेदवारहरूले बाँदर नियन्त्रणका लागि कानुनी र संरचनागत सुधार आवश्यक रहेको बताएका छन्। यसअघिका घोषणापत्रमा समेटिए पनि कार्यान्वयन हुन नसकेको विषयलाई अब प्राथमिकतामा राख्ने उनीहरूको प्रतिबद्धता छ।

नेपाली कांग्रेसका उम्मेदवार जोशीले पार्टी सुधारसँगै जिल्लाको समग्र विकासका लागि आफू चुनावी प्रतिस्पर्धामा उत्रिएको बताएका छन्। लामो राजनीतिक अनुभवलाई जनताको सेवामा उपयोग गर्ने र जनअपेक्षा अनुसार काम गर्ने उनको भनाइ छ।

एमालेका उम्मेदवार गिरीले अघिल्ला कार्यकालमा थालिएका विकास निर्माणका कामलाई पूर्णता दिन पुनः उम्मेदवारी दिएको बताए। नेपाल कम्युनिष्ट पार्टीका शर्मा र राष्ट्रिय स्वतन्त्र पार्टीका भुसालले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र शासन प्रणाली सुधारलाई मुख्य एजेन्डा बनाएका छन्।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा लगायत अन्य दलहरूले पनि आफ्ना गतिविधिलाई सशक्त बनाउँदै लगेका छन्।

आगामी निर्वाचनका लागि पर्वत जिल्लामा १ लाख २५ हजार ४६६ मतदाता रहेका छन्। निर्वाचनका लागि ७६ मतदानस्थल र १५१ मतदान केन्द्र तोकिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार