काठमाडौं, १८ माघ ।
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रमा आवधिक निर्वाचन घोषणापत्र–केन्द्रित प्रतिस्पर्धामा आधारित हुनुपर्ने बताएका छन्।
आइतबार नेपाल आर्थिक पत्रकार संघ ९नाफिज० ले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले नेपालमा हालसम्म निर्वाचन घोषणापत्रको आधारमा केन्द्रित हुन नसकेको उल्लेख गरे। राजनीतिक दल र मतदाता दुवैले घोषणापत्रलाई प्राथमिकता नदिँदा व्यक्तिकेन्द्रित राजनीति मौलाउँदै गएको उनको भनाइ थियो।
महामन्त्री पौडेलले उम्मेदवारको अनुहार, पद वा विगतको हैसियतका आधारमा होइन, उसले प्रस्तुत गरेको नीति, कार्यक्रम र घोषणापत्रका आधारमा छनोट हुनुपर्ने बताए। “लोकतन्त्रमा मतदान व्यक्तिको कदकाठी वा पहिचान हेरेर होइन, उसले देशका लागि ल्याएको दृष्टिकोण हेरेर हुनुपर्छ,” उनले भने।
उनका अनुसार नीति–केन्द्रित प्रतिनिधि छनोटका लागि मतदाता स्वयं पनि सचेत र जिम्मेवार हुन आवश्यक छ। साथै राजनीतिक दलहरूले पनि गाली–गलौज र आरोप–प्रत्यारोपको राजनीतिबाट माथि उठेर ठोस कार्यक्रम र मुद्दामा आधारित प्रतिस्पर्धा गर्नुपर्नेमा उनले जोड दिए।
महामन्त्री पौडेलले मर्यादित र मुद्दा–आधारित राजनीतिक प्रतिस्पर्धा विकास भएमा मतदाताले पनि कार्यक्रमकै आधारमा मतदान गर्ने विश्वास व्यक्त गरे। नागरिकले नेतृत्वबाट खोजिरहेको मुख्य विषय स्पष्ट आर्थिक दृष्टिकोण र कार्ययोजना भएको उनको भनाइ थियो।
उनले वर्तमान राजनीतिको मुख्य एजेन्डा आर्थिक क्षमता अभिवृद्धि रहेको उल्लेख गर्दै आर्थिक सोच नयाँ बनाउने प्रयास भए पनि अपेक्षित सफलता हासिल हुन नसकेको स्वीकार गरे।