१६ माघ, धनगढी।
सुदूरपश्चिम भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सँग मिल्दोजुल्दो हुलियामा देखिएका एक व्यक्तिको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि चासो बढेको छ।
१३ माघमा कैलाली पुगेका बालेनले हालसम्म कुनै सार्वजनिक सम्बोधन गरेका छैनन्। उनी रास्वपाका नेता, कार्यकर्ता तथा समर्थकलाई गाडीभित्रैबाट हात हल्लाउँदै विभिन्न स्थानतर्फ अघि बढिरहेका छन्। तीन दिनको अवधिमा उनले सुदूरपश्चिमका सबै जिल्लाका प्रमुख स्थानहरूको अवलोकन तथा भेटघाट पूरा गरिसकेका छैनन्।
यसैबीच, बालेन डोटीमा रहेका बेला सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक भयो, जसमा बालेनकै जस्तो भेषभूषा गरेका एक व्यक्ति कारको रुफटपबाट आधा शरीर बाहिर निकालेर घण्टी बजाउँदै हात हल्लाइरहेका देखिन्छन्। धेरै प्रयोगकर्ताले उक्त व्यक्तिलाई ‘डमी बालेन’ भन्दै टिप्पणी गर्न थालेपछि भिडियो थप चर्चामा आएको हो।
भिडियो पूर्व–पश्चिम राजमार्गअन्तर्गत कैलालीको लम्की बजारमा खिचिएको खुलेको छ। अनुसन्धानपछि बालेन जस्तै देखिने ती व्यक्ति टीकापुरका स्थानीय गोपाल कोइराला भएको पुष्टि भएको छ।
कालो टोपी, चस्मा, दाह्री र कालै लुगा लगाएका कारण धेरैले उनलाई बालेन नै ठानेका थिए। तर प्रहरीको स्कटिङसहित बालेन लम्की बजारबाट अघि बढिसकेपछि केही समयमै कोइराला उस्तै हुलियामा गाडीबाट हात हल्लाइरहेका देखिएपछि सर्वसाधारण अलमलमा परेका थिए।
कोइरालाका अनुसार उनले करिब डेढ महिनाअघि मात्र अनलाइनमार्फत रास्वपाको सदस्यता लिएका हुन्। आफू बालेनको समर्थक भएकाले लामो समयदेखि उनकै जस्तै भेषभूषा अपनाउँदै आएको दाबी उनको छ।
“बालेन आउने खबर पाएपछि स्वागत र भेटघाटका लागि म पनि लम्की पुगेको थिएँ,” कोइरालाले भने, “तर म पुग्नुअघि नै उहाँ अघि बढिसक्नुभएको रहेछ। त्यही क्रममा साथीहरूको आग्रहमा गाडीबाट हात हल्लाएको भिडियो खिचिएको हो।”
उनले उक्त काम नियतबस वा योजनाबद्ध रूपमा नगरेको स्पष्ट पार्दै मिडियामा देखाएजस्तो बालेनलाई झुक्याउने उद्देश्य नभएको बताए।
यो भिडियो सार्वजनिक भएपछि सुदूरपश्चिमका अन्य पहाडी जिल्लामा समेत ‘डमी बालेन’ प्रयोग गरिएको हो कि भन्ने आशंका पनि उठेको छ। तर रास्वपा सुदूरपश्चिम समितिले यसबारे कुनै जानकारी नभएको जनाएको छ। प्रदेश सभापति प्रकाश विष्टले यस विषयमा पार्टीलाई औपचारिक जानकारी नआएको बताएका छन्।
१३ माघदेखि सुदूरपश्चिम भ्रमणमा रहेका बालेन हाल अछाम पुगेका छन्। उनी विभिन्न स्थानमा पार्टीका कार्यकर्ता र समर्थकसँग भेटघाट गर्दै अघि बढिरहेका छन् भने हालसम्म कुनै सार्वजनिक अभिव्यक्ति दिएका छैनन्।