काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले शहीदहरूको साहस, चेतना र अडिग सङ्कल्पकै कारण आज देश ऐतिहासिक परिवर्तनको मोडमा उभिएको बताएकी छन्। उनले शहीद दिवसको अवसरमा जारी गरेको शुभकामना सन्देशमा सबै आमाहरूमाथि फेरि कुनै दुःख नपरोस् भन्ने कामना गरेकी छन्।
प्रधानमन्त्री कार्कीले आफ्नो सन्देशमा भनिन्,
ूशहीदहरूको साहस, चेतना र सङ्कल्पका कारण देश आज ऐतिहासिक परिवर्तनको मोडमा उभिएको छ। अब कुनै आमाको काख फेरि रित्तिन नपरोस्। न्याय, समानता, उत्तरदायी शासन र उज्यालो भविष्यको आशामा उठेको जेनजी आन्दोलनमा सहादत प्राप्त वीर योद्धाहरूलाई सम्मान गर्दछौं।
उनले नागरिक स्वतन्त्रता र लोकतन्त्रका लागि आफ्नो अमूल्य जीवन अर्पण गर्ने सबै व्यक्तिहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेकी छन्। साथै प्रधानमन्त्री कार्कीले हरेक शासकको स्मरणमा शासकीय मूल्य, नैतिकता र नागरिकको सम्मानमा आधारित राज्य निर्माणको दायित्व सदैव रहनुपर्नेमा जोड दिएकी छन्।