काठमाडौं
नेपाली टेनिसको उदाउँदै गरेको प्रतिभा शिभाली गुरुङले अष्ट्रेलियामा भइरहेको एसिया–प्यासिफिक एलिट–१४ एन्ड अन्डर ट्रफी प्रतियोगितामा प्रभावशाली प्रदर्शन गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेकी छन्।
अष्ट्रेलियन ओपनसँगै सञ्चालन भइरहेको यो प्रतिष्ठित जुनियर टेनिस प्रतियोगितामा शिभालीले समूह चरणका तीनमध्ये दुई खेल जित्दै अन्तिम चारमा पुग्न सफल भइन्। बिहीबार समूह ‘ए’ अन्तर्गतको अन्तिम खेलमा उनले घरेलु खेलाडी जसलिन के लाई सोझो सेटमा पराजित गर्दै सेमिफाइनल यात्रा तय गरिन्।
मेलबर्न पार्कको वेस्ट कोर्ट–१९ मा भएको खेलमा शिभालीले सुरुदेखि नै आक्रामक खेल प्रस्तुत गर्दै जसलिनलाई ६–०, ६–१ को फराकिलो अन्तरले पराजित गरिन्। कोर्टमा उनको आत्मविश्वास, सटीक सर्भ र निरन्तर दबाबले दर्शकको ध्यान खिचेको थियो।
यसअघि प्रतियोगिताको पहिलो खेलमा शिभालीले चीनकी जिन्यु झाउ लाई कडा प्रतिस्पर्धामा २–१ सेट ले पराजित गर्दै विजयी सुरुआत गरेकी थिइन्। दोस्रो खेलमा भने उनी भारतकी जेन्सी कनाबार सँग सोझो सेटमा पराजित भइन्।
समूह चरणको समाप्तिसँगै समूह ‘ए’ बाट नेपालकी शिभाली गुरुङ र भारतकी जेन्सी कनाबार सेमिफाइनलमा प्रवेश गरेका छन्। शिभालीले अब सेमिफाइनलमा न्युजिल्यान्डकी मुसेम्मा सिलेक सँग प्रतिस्पर्धा गर्नेछिन्। यो खेल बिहीबार नै मेलबर्न पार्कको वेस्ट कोर्ट–१४ मा हुनेछ।
त्यस्तै, अर्को सेमिफाइनलमा भारतकी जेन्सी कनाबार र जापानकी आयोइ योसिदा आमनेसामने हुनेछन्।
एसिया–प्यासिफिक क्षेत्रका उत्कृष्ट जुनियर खेलाडी सहभागी यस प्रतियोगितामा गर्ल्स र ब्वाइज दुवैतर्फ आठ–आठ खेलाडीको सहभागिता रहेको छ। सहभागी खेलाडीलाई दुई समूहमा विभाजन गरी लिग प्रणालीमा खेलाइएको थियो।
शिभालीको यो प्रदर्शनले अन्तर्राष्ट्रिय स्तरमा नेपाली टेनिसको सम्भावना उजागर गरेको छ। कम उमेरमै यति ठूलो प्रतियोगितामा सेमिफाइनलसम्म पुग्नु नेपाली खेलकुदका लागि उत्साहजनक उपलब्धि मानिएको छ।