१४ माघ, काठमाडौं
काठमाडौं–१० मा आगामी प्रतिनिधि सभा निर्वाचनका लागि प्रमुख दलहरूले फरक–फरक रणनीति अपनाएका छन्। नेपाली कांग्रेस र नेकपा एमालेले नयाँ अनुहारलाई उम्मेदवार बनाउँदा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले अघिल्लो निर्वाचनमै प्रतिस्पर्धा गरेका उम्मेदवारलाई पुनः मैदानमा उतारेको छ।
लगातार तीनपटक यस क्षेत्रबाट निर्वाचित कांग्रेस केन्द्रीय सदस्य राजेन्द्रकुमार केसीले यसपटक उम्मेदवार नहुने निर्णय लिएपछि कांग्रेसले नयाँ अनुहारलाई अवसर दिएको हो। केसीको स्थानमा कांग्रेसले पार्टीका पुराना कार्यकर्ता हिमाल कार्कीलाई उम्मेदवार बनाएको छ।
उता नेकपा एमालेले पनि यस निर्वाचन क्षेत्रमा नयाँ अनुहारलाई अघि सारेको छ। एमालेबाट मजदुर आन्दोलनका अगुवा विनोद श्रेष्ठ प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका छन्। कांग्रेसका कार्की र एमालेका श्रेष्ठ दुवै पहिलोपटक संघीय संसदको निर्वाचनमा प्रत्यक्ष प्रतिस्पर्धा गर्दैछन्।
यस क्षेत्रका प्रमुख दलहरूले नयाँ उम्मेदवार अघि सारे पनि रास्वपाले भने अघिल्लो निर्वाचनमा प्रत्यक्षतर्फ तेस्रो स्थानमा रहेका प्रदीप विष्टलाई पुनः उम्मेदवार बनाएको छ। विष्ट रास्वपाका काठमाडौं जिल्ला सभापति समेत हुन्। गत निर्वाचनमा उनले उल्लेख्य मत प्राप्त गरेका थिए भने समानुपातिकतर्फ रास्वपा यस क्षेत्रमा दोस्रो शक्तिका रूपमा उदाएको थियो।
त्यस्तै, प्रचण्ड संयोजक रहेको नेकपाले काठमाडौं–१० बाट रुपा महर्जन ९श्रेष्ठ० लाई उम्मेदवार बनाएको छ। चन्द्रागिरी नगरपालिकाकी स्थानीय महर्जन तत्कालीन माओवादी केन्द्रका पुराना नेता दिलिप महर्जनकी छोरी हुन्। संविधानसभा सदस्यसमेत रहेकी महर्जनका पति सशस्त्र द्वन्द्वकालमा बेपत्ता भएका थिए।
कांग्रेसको बलियो पकड
विगतका निर्वाचन परिणाम हेर्दा काठमाडौं–१० मा कांग्रेसको संगठनात्मक पकड बलियो देखिन्छ। यस क्षेत्रमा पर्ने २९ वडामध्ये २१ वडामा कांग्रेसका वडाध्यक्ष निर्वाचित भएका छन्। कीर्तिपुर, चन्द्रागिरी र दक्षिणकाली नगरपालिकामा कांग्रेसको प्रभाव देखिँदै आएको छ।
२०६४ सालको निर्वाचनमा तत्कालीन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी भए पनि त्यसपछि भएका तीनवटै निर्वाचनमा कांग्रेसका राजेन्द्रकुमार केसी निर्वाचित हुँदै आएका थिए। २०७०, २०७४ र २०७९ सालमा केसीले लगातार जित हात पारेका थिए।
उम्मेदवारहरूको पृष्ठभूमि
५५ वर्षीय हिमाल कार्की कीर्तिपुर नगरपालिका वडा नम्बर–१० का स्थानीय हुन्। नेविसंघ हुँदै राजनीतिमा प्रवेश गरेका कार्की २०५४ सालमा वडाध्यक्ष निर्वाचित भएका थिए। लामो समयपछि उनी प्रतिनिधि सभाको टिकट पाउन सफल भएका छन्।
एमालेका उम्मेदवार ६१ वर्षीय विनोद श्रेष्ठ चन्द्रागिरी नगरपालिकाका बासिन्दा हुन्। उनी ट्रेड युनियन आन्दोलनका स्थापित नेता हुन् र नेपाल ट्रेड युनियन महासंघको अध्यक्ष तथा दक्षिण एसियाली ट्रेड युनियन महासंघको उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन्।
रास्वपाका उम्मेदवार ५१ वर्षीय प्रदीप विष्ट कीर्तिपुर नगरपालिकाका स्थानीय हुन्। अघिल्लो निर्वाचनमा प्रत्यक्षतर्फ तेस्रो स्थानमा रहे पनि समानुपातिकतर्फ उल्लेख्य मत ल्याएका विष्टलाई पार्टीले पुनः विश्वास दिएको हो।
मतदाता र प्रतिस्पर्धा
काठमाडौं–१० मा कूल ८३ हजार ३०१ मतदाता रहेका छन्। महिला मतदाता ४२ हजार ७१६ र पुरुष मतदाता ४० हजार ५८३ छन्। यस क्षेत्रमा ४७ मतदान स्थल र ९८ मतदान केन्द्र निर्धारण गरिएको छ।
दलीय तथा स्वतन्त्र गरी २५ जना उम्मेदवार मैदानमा रहेका छन्, जसमध्ये १० जना स्वतन्त्र उम्मेदवार हुन्। नयाँ र पुराना अनुहारबीचको प्रतिस्पर्धाले काठमाडौं–१० को चुनावी माहोल रोचक बन्दै गएको छ।