१४ माघ, काठमाडौं
प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता लागू भएको १० दिन नबित्दै निर्वाचन आयोगले १५ जना व्यक्ति तथा संस्थासँग स्पष्टीकरण मागेको छ। आयोगले माघ ४ गतेदेखि निर्वाचन आचारसंहिता लागू गरेको हो। त्यसयता मङ्गलबारसम्म विभिन्न उजुरी र अनुगमनका आधारमा १५ वटा स्पष्टीकरण पत्र पठाइएको आयोगले जनाएको छ।
स्पष्टीकरण सोधिएका व्यक्तिहरूमा विभिन्न राजनीतिक दलका चर्चित नेता तथा उम्मेदवारहरू परेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन्द्र शाह ९बालेन०, नेकपा एमालेका सचिव महेश बस्नेत, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई ९साम्पाङ०, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की लगायत यस सूचीमा छन्।
यसैगरी नेकपा ९माओवादी केन्द्र० का नेता शक्ति बस्नेत, जनसेवा पार्टीबाट रुपन्देही–२ का उम्मेदवार कमल भुसाल ९निकोलस०, राप्रपाबाट काठमाडौं–४ का उम्मेदवार वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी तथा बाँके–३ का रास्वपा उम्मेदवार खगेन्द्र सुनारसँग पनि आयोगले स्पष्टिकरण सोधेको छ।
कसलाई के आरोप रु
रास्वपा नेता बालेन्द्र शाहमाथि एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध सामाजिक सञ्जालमा आपत्तिजनक र भड्काउ अभिव्यक्ति दिएको आरोप लागेको छ। ओली र शाह झापा–५ बाट प्रतिस्पर्धामा छन्। फेसबुकमा भएको टिप्पणीका कारण शाहविरुद्ध उजुरी परेपछि आयोगले स्पष्टीकरण मागेको हो।
एमाले सचिव महेश बस्नेतमाथि भने बालेनको मैथिली भाषाको अभिव्यक्तिलाई गलत अर्थ लगाएर समुदायप्रति अपमानजनक टिप्पणी गरेको आरोप छ। सो विषयमा उजुरी परेपछि आयोगले उनीसँग जवाफ मागेको हो। बस्नेतले यसअघि सार्वजनिक रूपमा माफी मागिसकेका छन्।
नेकपाका नेता शक्ति बस्नेतमाथि मनोनयन दर्ताका क्रममा बाजा बजाउने व्यक्तिलाई पैसा दिएको देखिने भिडिओ सार्वजनिक भएपछि उजुरी परेको थियो। त्यसै आधारमा आयोगले स्पष्टीकरण सोधेको हो।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले एमाले अध्यक्ष ओलीको मनोनयनमा सहभागी हुँदा सरकारी सवारी प्रयोग गरेको आरोपमा उजुरी परेपछि आयोगको ध्यानाकर्षण भएको छ।
सुनसरी–१ का उम्मेदवार हर्क साम्पाङमाथि प्रचारप्रसारमा बालबालिका प्रयोग गरेको तथा आचारसंहिता विपरीतका सामग्री प्रयोग गरेको आरोप छ। त्यस्तै, कमल भुसाल ९निकोलस० ले हिंसात्मक सन्देश दिने तस्बिर प्रयोग गरेर मत मागेको आरोप खेपेका छन्।
राप्रपाका उम्मेदवार सुरेन्द्र भण्डारीमाथि लैंगिक तथा अल्पसंख्यक समुदायविरुद्ध घृणास्पद टिप्पणी गरेको आरोपमा उजुरी परेको छ भने खगेन्द्र सुनारमाथि गाईको मासुसम्बन्धी विवादित अभिव्यक्ति दिएको विषयमा स्पष्टीकरण मागिएको आयोगले जनाएको छ।
दुई जनाले बुझाए जवाफ
आयोगका अनुसार हालसम्म स्पष्टीकरण सोधिएकामध्ये दुई जनाले मात्र लिखित जवाफ बुझाएका छन्। तीमध्ये शक्ति बस्नेत र रास्वपाका उम्मेदवार जगदीश खरेल रहेका छन्।
आयोगकी सह–प्रवक्ता सीता पुन श्रीसका अनुसार तोकिएको समयभित्र जवाफ नआए पुनः पत्राचार भइरहेको छ। “स्पष्टीकरण चित्तबुझ्दो भएमा थप कारबाही हुँदैन, अन्यथा आवश्यक प्रक्रिया अघि बढाइन्छ,” उनले भनिन्।
हालसम्म कसैलाई पनि आचारसंहिता उल्लङ्घनको आरोपमा कारबाही भने गरिएको छैन। आयोगले उजुरी र आफ्नै अनुगमन दुवै माध्यमबाट आचारसंहिता पालनाको निगरानी गरिरहेको जनाएको छ।