काठमाडौँ — प्रतिनिधिसभा निर्वाचनसम्म केवल ३९ दिन बाँकी रहँदा, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालमा ठूलो विभाजन भएको छ। पार्टीका दर्जनौँ नेता–कार्यकर्ताले सामूहिक रूपमा आफ्नो पार्टी छाड्ने निर्णय गरेका छन्।
स्रोतका अनुसार, केन्द्रीय सदस्य, राष्ट्रिय परिषद् सदस्य र धनुषा जिल्ला कार्यसमितिका सदस्यसहित १२ जना केन्द्रीय तथा परिषद् सदस्य र १० जना जिल्ला सदस्य ले पार्टी परित्यागको घोषणा गरेका छन्। उनीहरूले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा वर्तमान राजनीतिक अवस्था दिशाहीन र अवसरवादी भएको उल्लेख गरिएको छ।
त्यसै विज्ञप्तिमा भनिएको छ, “देश अहिले राजनीतिक सङ्कटमा छ, जहाँ दलगत स्वार्थ र व्यक्ति–केन्द्रित राजनीतिले जनताको अपेक्षा पूरा गर्न सकेको छैन। यस्तो अवस्थामा पार्टीगत सीमाभन्दा माथि उठेर देश, जनता र लोकतान्त्रिक मूल्यका लागि साझा प्रयास आवश्यक छ।”
पार्टी छाड्ने नेताहरूले अब यथास्थितिवादी र विभाजनकारी राजनीतिबाट अलग हुँदै, लोकतन्त्र, जनअधिकार र राष्ट्रिय सार्वभौमिकताको पक्षमा नयाँ राजनीतिक यात्रा सुरु गर्ने जानकारी दिएका छन्। उनीहरूले केही दिनभित्र नयाँ राजनीतिक अभियान औपचारिक रूपमा सार्वजनिक गरिने संकेत पनि गरेका छन्।
राजेन्द्र महतोको पार्टीमा आएको यो विभाजनले आगामी प्रतिनिधिसभा निर्वाचनमा राजनीतिक परिदृश्यमा ठूलो प्रभाव पार्ने अनुमान गरिएको छ।