Logout

चर्चामा

गणपतिलाललाई पर्यटन मन्त्रीबाट कल्याण श्रेष्ठले रोकेको खुलासा ! ‘नेपो किड’ श्रद्धा अघि सारिँदा नेवाः समुदाय आक्रोशित

791 Shares

काठमाडौं । सम्पदा अभियन्ता गणपतिलाल श्रेष्ठ पर्यटन तथा नागरिक उड्डयनमन्त्री बन्ने चर्चा तिहारअघि नै चर्किएको थियो । सुशीला कार्की नेतृत्वको सरकारमा उनी मन्त्री बन्ने तयारीमा रहेको राजनीतिक वृत्तमा चर्चा चलेको थियो । तर अन्तिम समयमा खेल उल्टियो  गणपतिलाई बाहिर राखेर नयाँ अनुहार अघि सारियो ।

स्रोतका अनुसार, गणपतिलाई रोक्ने शक्तिशाली हात पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको रहेको आशंका गरिएको छ । कल्याणले आफू नजिककी पर्यटन बोर्डकी कर्मचारी श्रद्धा श्रेष्ठलाई मन्त्री बनाउन सक्रिय भूमिका खेलेको आरोप उठेको छ ।

राजनीतिक वृत्तका अनुसार कल्याण श्रेष्ठ र नागरिक उड्डयन प्राधिकरणका प्रमुख प्रदीप अधिकारीबीच नजिक सम्बन्ध रहेको बताइन्छ । यही सम्बन्धका कारण मन्त्रालयमा आफूअनुकूल मान्छे पठाउने योजना तयार भएको आरोप छ । प्रदीप अधिकारीको कार्यकाल निकट भविष्यमा सकिँदैछ, र पुनःनियुक्ति तथा सरुवामा प्रभाव जमाउने तयारी स्वरूप यो ‘मन्त्री चलखेल’ गरिएको विश्लेषण गरिएको छ ।

नेपाल वायुसेवा निगममा पनि नेतृत्व परिवर्तनको तयारी भइरहेकाले कल्याण र प्रदीपबीच मिलेमतोमा ‘स्वार्थपूर्ण नियुक्ति योजना’ अघि बढाइएको स्रोतको दाबी छ ।

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ पछिल्ला वर्षहरूमा संवैधानिक निकायदेखि उच्च तहका राजनीतिक निर्णयसम्म प्रभाव पार्ने प्रयास गर्दै आएको आरोप पहिले पनि उठ्दै आएको थियो । अहिले पुनः गणपतिलाल श्रेष्ठलाई रोक्ने घटनाले सो आरोपलाई बलियो बनाएको छ ।

यहीबीच, नेवाः समुदायले आफ्ना दुई सक्षम र लोकप्रिय उम्मेदवार  बिद्या श्रेष्ठ महर्जन र गणपतिलाल श्रेष्ठलाई अघि सारिरहेको समयमा, “Nepokid” भनेर चिनिएकी श्रद्धा श्रेष्ठ किन अघि सारिइन् ? भन्ने प्रश्न उठ्न थालेको छ ।
सांस्कृतिक पहिचान, अनुभव र जनप्रतिनिधित्वका हिसाबले योग्य मानिएका आफ्ना उम्मेदवारलाई पन्छ्याएर पहुँचको राजनीतिले अवसर कब्जा गरेको भन्दै नेवाः समुदायभित्र असन्तोष देखिएको छ ।

सामाजिक सञ्जालमा श्रद्धा श्रेष्ठमाथि चर्को आलोचना भइरहेछ — “योग्यता होइन, पहुँचको खेल चल्यो” भन्ने टिप्पणीहरू बढिरहेका छन् । आलोचकहरूको भनाइ छ, “देशमा इमानदार अभियन्ता र सांस्कृतिक नेतृत्वलाई किनारा लगाउने र पहुँचका भरमा पद बाँड्ने प्रवृत्तिले नै प्रणाली कमजोर बनाएको हो।”

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार