Logout

चर्चामा

‘माटोले घर पोत्ने चलन हरायो, आम्दानी गुम्यो’

717 Shares

असोजः निसीखोला गाउँपालिका–४ की ६७ वर्षीया जेठी विकले रातोमाटो बिक्री गरेर दसैँ खर्च जोहो गर्न थालेको करिब २० वर्ष भयो । ग्रामीण क्षेत्रका घरमा रातोमाटो र सेतो कमेरोमाटोले पोत्ने हुँदा विकले घरघरमै माटो पुर्‍याउँदै आउनुभएको छ ।

पछिल्लो पाँच वर्षयता भने आयाति रङले घर पोत्ने चलन बढेपछि विकलाई दसैँ खर्च जोहो गर्न समस्या भएको छ । दसैँ आउनुभन्दा एक साताअगाडि नै घरका भित्ता, झ्याल र ढोका रङ्ग्याउने प्रचलन अझै छ, तर पहिलेजस्तो स्थानीयस्तरमा पाइने माटोले पोत्ने चलन भने हराउँदै भएको हो । “एक दशकअघिसम्म दसैँका बेला करिब १०० घरमा माटो पुर्‍याउने गरेको थिए, हाल १५ घरमा पनि माटोको माग हुँदैन ।

हिजोआज घरमा सिमेन्ट लगाएपछि माटो र कमेरो प्रयोगमा आउन छोडेको छ”, विकले भन्नुभयो,“जमाना फेरिए, गाउँका घरमा पनि धेरैले सिमेन्ट लगाउन थाले । पहिले कमेरो लगाउने भित्तामा हाल इनामेल र अरु रङ लगाउन थालिएको छ । पहिले एकैदिनमा रु सात सयसम्म पनि कमाई हुन्थ्यो, हाल पाँच दिनमा पनि सात सय हुँदैन ।” स्थानीय कलीकुमारी सुनारले पहिले रातोमाटो र कमेरोमाटो निकाल्ने ठाउँ हाल झाडीले ढाकिएको सुनाउनुभयो । गाउँमा खर र ढुङ्गेघर विस्थापित हुँदै गएपछि स्थानीयले माटोले पोत्न छोडेको उहाँको भनाइ छ ।

“माटो बेचेर दसैँका बेला रु १० देखि २० हजार कमाउने गरेकी थिए । पछिल्लो समय काम गर्न छोड्नुपर्ने अवस्था आयो । बसाइँसराइ बढ्यो । विकासको प्रभावले बजारका सामानले ठाउँ लिए”, सुनारले भन्नुभयो,“पहिलेजस्तो बारीबाट रातोमाटो ल्याउने अवस्था रहेन । अहिले गाउँमा मोटर गाडी आए, धेरैले पक्की घर बनाउन थाले । गाउँमा परम्परागत पहिचान हरायो, हाम्रो आम्दानी गुम्यो ।”

विगतमा रातोमाटो र सेतो कमेरोमाटोले घर पोतिनु गाउँको मौलिकता नै थियो । आधुनिकताले परम्परागत घर विस्थापित हुँदै गएपछि माटोले घर पोत्न चलन हराउँदै गएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार