Logout

चर्चामा

गाउँको भुइँतहदेखि नीतिगत मञ्चसम्म: मेरो अनुभव

2.7k Shares

✍️ डा. तारु कार्की
PhD, Gender & Public Policy

 

मेरो पृष्ठभूमि र यात्राको सुरुवात
म ग्रामीण भेगमा हुर्किएकी छोरी हुँ। भीरालो बाटो, टाढाको विद्यालय, स्वास्थ्य संस्थासम्म पुग्न कठिनाइ—यी सबै मेरो जीवनका वास्तविकताहरु थिए। महिलाहरूको पसिना र संघर्ष देखेर म हुर्कें, तर निर्णय प्रक्रियामा उनीहरूको उपस्थिति नदेख्दा मेरो मनमा प्रश्न उठ्यो—किन गाउँको आवाज नीतिगत तहसम्म किन पुग्दैन ?
यहि प्रश्नको उत्तर खोज्ने यात्रामा मैले Gender and Public Policy मा PhD गरेँ। अन्तर्राष्ट्रिय अभ्यास, तथ्याङ्कीय विश्लेषण, र नीतिगत संरचनाको दृष्टिकोणले मलाई यो दिशा दियो। तर मेरो असली प्रेरणा भने गाउँकै अनुभव र पीडा नै थिए।

किन यो विषय अहिले महत्त्वपूर्ण छ?
नेपाल डिजिटल युगमा प्रवेश गरिसकेको छ। शहरमा प्रविधि शिक्षा को अवसर बढ्दैछन्, तर ग्रामीण महिलाहरू अझै आफ्नो आवाज सुनाउन सक्दैनन्। बालबालिका अझै पनि बालविवाह, श्रम शोषण र शिक्षाबाट वञ्चित छन्।
प्रमुख चुनौतीहरू
• सामाजिक संरचना: दाइजो, रूढिवाद, गरिबी।
• अवसरको खाडल: शहर र गाउँबीच शिक्षा, स्वास्थ्य र ICT पहुँचमा असमानता।
• स्वास्थ्य संकट: विशेषगरी सुत्केरी अवस्थामा महिलाको जीवन अझै जोखिमपूर्ण छ।
• मानसिक स्वास्थ्य: नदेखिने तर गहिरो पीडा।
तथ्याङ्क (2024/25)
• UNESCO: ग्रामीण क्षेत्रमा १५–२४ वर्षका करिब ३०% बालिकाहरू अझै विद्यालयबाहिर।
• UNICEF (2024): करिब ३८% बालबालिकाले प्राथमिक तहपछि शिक्षा निरन्तर दिन सक्दैनन्।
• CBS (2024): ग्रामीण क्षेत्रमा २५% भन्दा बढी महिलाले स्वास्थ्य सेवामा पहुँच पाउँदैनन्।
• MoHP (2024/25): हरेक १,००० प्रसूतीमध्ये १६ जाना आमाहरु को ज्यान गुम्ने जोखिम, विशेष गरी ग्रामीण क्षेत्रमा।
यी तथ्याङ्कहरूले प्रष्ट देखाउँछन्—नीति र व्यवहारबीच अझै ठूलो खाडल छ।

व्यक्तिगत अनुभव: भुइँतहको कथा
१. दाइजोले बाँधिएको जीवन
तराईको एउटा गाउँमा भेटेकी थिएँ एक दिदीलाई। दाइजो दिन नसकेकी कारण उनी निरन्तर हिंसामा परिन। उनीको‌ विवाह परिवारको लागि खुशी थिएन, पीडाको कारण बनेको थियो। तर उनले आँसु पुछ्दै मलाइ भनिन्—म पनि छोरीकी आमा भइसकेकी छु त्यसैले अब मेरी "छोरी पढ्छे अनि दाइजो होइन, उसको शिक्षा नै उसको शक्ति हुनेछ।” उनको आँटले देखायो कि—शिक्षा दाइजोविरुद्धको सबैभन्दा ठूलो हतियार हो।
२. सुत्केरी आमाको संघर्ष
अर्को गाउँमा भेटेकी थिएँ एक आमा। तीन घण्टा हिँडेर स्वास्थ्य चौकी पुग्दा ढिलो भइसकेको थियो—उनको बच्चा बचेन। त्यो पीडाले मलाई अहिले सम्म छोडेको छैन। स्वास्थ्य सुविधा गाउँसम्म नपुग्दा हरेक वर्ष सयौँ आमाहरूको सपना आमा बन्न सकेको छैन।
३. बालबालिकाको जीवनमा सानो परिवर्तन
एक बालक, जसले आर्थिक समस्याको कारणले विद्यालय छोडेका थिए, सामुदायिक सहयोग र स्थानीय सरकारको सानो सहयोगपछि पुनः विद्यालय फर्किए। अहिले उनी स्थानीय स्तरमै बालअधिकारका सशक्त आवाज बनेका छन्।
यी कथाहरूले मलाई सिकाए—नीति कागजमा मात्र होइन, जीवनमा लागू हुँदा मात्र अर्थपूर्ण हुन्छ।

महिला मानसिक स्वास्थ्य: नदेखिने तर गहिरो संकट
ग्रामीण महिलाहरूको मानसिक स्वास्थ्य अझै बेवास्ता गरिएको मुद्दा हो।
• सामाजिक दबाब: दाइजो, घरेलु हिंसा, आर्थिक बोझले डिप्रेशन बढाउँछ।
• अवसरको कमी: शिक्षा र आयआर्जनमा पहुँच नहुँदा आत्मसम्मान कमजोर हुन्छ।
• सुत्केरी अवस्थाको पीडा: प्रसूति–पश्चात महिलामा postpartum depression सामान्य हुन्छ, तर गाउँमा उपचार वा परामर्श छैन।
• WHO (2023) अनुसार दक्षिण एशियामा करिब २०% महिलाले प्रसूति–पश्चात मानसिक स्वास्थ्य समस्या अनुभव गर्छन्। नेपालमा ग्रामीण क्षेत्रमा यो समस्या अझ गहिरो छ।
व्यक्तिगत कथा
एक आमा, जसले दाइजो नल्याएको कारण निरन्तर गाली र यातना सहिन्। उहाँले भन्नुभयो—
“म जीवित छु, तर भित्रैभित्रै म मरेको जस्तो लाग्छ।”
उहाँलाई हामि सबै मिलेर counseling दियौ, मायाँ गरिउ, उहाँको समस्या बुझेउ। आज उहा फेरि आत्मविश्वासका साथ समाजमा बोल्न थाल्नुभएको छ, काममा पुन फर्किनु भएको छ । यो प्रमाण हो—मानसिक स्वास्थ्य उपचारले जीवनमा आशा फर्काउन सक्छ।

नीतिगत अवस्था र कमी
नेपालमा कानुनी तथा नीतिगत प्रगति भए पनि व्यवहारमा कमजोर छन्:
• मानसिक स्वास्थ्यलाई अझै बजेट वा नीति प्राथमिकतामा समेटिएको छैन।
• प्रशिक्षित psychosocial counselor को कमी छ।
• stigma (लाज, डर) को कारण महिलाले सहयोग लिन सक्दैनन्।
• सुरक्षित मातृत्व नीति व्यवहारमा कमजोर छ।
• Participatory Policy-Making अझै कमजोर छ।

सुधारका बाटा
१. मानसिक स्वास्थ्यलाई प्राथमिक स्वास्थ्य प्रणालीमा समावेश गर्ने
• प्रत्येक प्राथमिक स्वास्थ्य केन्द्रमा mental health desk स्थापना‌ हुनुपर्छ।
• स्वास्थ्यकर्मीलाई मनोसामाजिक परामर्शमा तालिम दिनुपर्छ।
२. सुत्केरी महिलाका लागि Postpartum Mental Health Program ल्याउनुपर्छ।
• गर्भावस्था र प्रसूति–पश्चात अनिवार्य मानसिक स्वास्थ्य चेक–अप गर्नुपर्छ।
• आमा समूहमार्फत समर्थन प्रणाली निर्माण गर्नुपर्छ।
३. सामाजिक सचेतना अभियान चलाउनुपर्छ।
• दाइजो, घरेलु हिंसा र मानसिक स्वास्थ्यबारे खुलेर छलफल गर्ने वातावरण बनाउनु पर्छ।
• विद्यालयदेखि  नै मानसिक स्वास्थ्य शिक्षा राख्नु पर्छ।
४. महिलालाई नीतिनिर्माणमा प्रत्यक्ष संलग्न गराउनुपर्छ।
• स्थानीय तहमा महिला नेतृत्वलाई बढावा दिनु पर्छ।
• दाइजो प्रथा अन्त्यका लागि सामुदायिक महिला नेतृत्वलाई प्राथमिकता दिनुपर्छ।
५. शिक्षा, स्वास्थ्य र ICT मा लगानी बढाउनु पर्छ।
• ग्रामीण विद्यालयमा ICT र इन्टरनेट पहुँच पुर्याउनु पर्छ।
• गाउँगाउँमा सुरक्षित मातृत्व केन्द्र स्थापना गर्नु पर्छ।
६. बालबालिका–मैत्री नीति ल्याउनुपर्छ।
• Child-centered budgeting ल्याउनुपर्छ।
• बालविवाह नियन्त्रणका लागि कानुनी मात्र नभई सामुदायिक अभियान चलाउनुपर्छ।
७. समुदायलाई सशक्तिकरण बनाई राख्नु पर्छ।
• Participatory planning र social audit प्रणाली ल्याउनुपर्छ।
• समुदायलाई बजेट निगरानीमा संलग्न गराउनुपर्छ।

निष्कर्ष
म गाउँमा हुर्किएको एक छोरी हुँ, जसले देखिन्—नीति कागजमा सुन्दर हुन्छ, तर गाउँको आँगनमा पुग्दा मात्र अर्थपूर्ण हुन्छ। मेरो शैक्षिक यात्रा, अनुसन्धान र अनुभवले सिकायो—महिलाको आवाजलाई शक्तिमा रूपान्तरण नगरेसम्म वास्तविक रूपान्तरण सम्भव छैन।
महिला मानसिक स्वास्थ्यलाई प्राथमिकता बिना लैङ्गिक समानता अधुरो हुन्छ। मानसिक स्वास्थ्य उपचार, परामर्श र समर्थनलाई नीति र व्यवहारमा जोडेर मात्र हामीले वास्तविक सामाजिक रूपान्तरण गर्न सक्छौं।
नीति केवल रिपोर्ट र रणनीतिमा सीमित हुन हुँदैन। एउटी गाउँकी आमा, दाइजोका कारण आँसु बगाउने छोरी, स्वास्थ्य चौकीमा पुग्दा बच्चा गुमाउने सुत्केरी, र उज्यालो भविष्य खोज्ने बालबालिकाको सपना पूरा गर्ने साधन हुनुपर्छ

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार