काठमाडौं । चीनको थियानजिनस्थित मेइजियान सम्मेलन केन्द्रमा आजदेखि शांघाइ सहयोग संगठन (एससीओ) प्लसको शिखर सम्मेलन सुरु भएको छ। सम्मेलनलाई नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सम्बोधन गर्नेछन्।
प्रधानमन्त्री ओली भदौ १४ गते चीन पुगेका हुन्। पाँचदिने भ्रमणका क्रममा उनले विभिन्न मुलुकका राष्ट्र तथा सरकार प्रमुखसँग भेटवार्ता गरिरहेका छन्।
एससीओ के हो?
सन् २००१ मा क्षेत्रीय स्थिरता र आपसी सहयोग प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना भएको एससीओमा हाल चीन, काजकस्तान, किर्गिस्तान, ताजकिस्तान, उजबेकिस्तान, रुस, भारत, पाकिस्तान, इरान र बेलारुस गरी १० सदस्य देश रहेका छन्। नेपाल सन् २०१६ देखि यस संगठनको संवाद साझेदार बनेको हो।
यसपटक भदौ १५ र १६ गतेसम्म चल्ने सम्मेलनमा नेपालबाट उच्चस्तरीय सहभागिता पहिलोपटक भएको हो। सम्मेलनमा राजनीति, अर्थतन्त्र र सुरक्षासम्बन्धी विषयमा छलफल हुने जनाइएको छ।
ओली–शी भेट र चर्चा
चीन पुगेपछि प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिनफिङसँग भेटवार्ता गरेका थिए। सो भेटमा उनले भारत–चीनबीच लिपुलेक हुँदै व्यापार गर्ने सम्झौताप्रति असन्तुष्टि जनाएपछि नेपालको अडानको चर्चा भएको छ। तर, चिनियाँ विदेश मन्त्रालयले सार्वजनिक गरेको विवरणमा सो विषय उल्लेख नभई, बरु नेपालले चीनको ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई) लाई समर्थन गरेको उल्लेख भएपछि प्रश्न उठ्न थालेका छन्।
पुटिनलगायतसँग भेट हुने
प्रधानमन्त्री ओलीले आज रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, माल्दिभ्सका राष्ट्रपति डा. मोहमद मिज्जु, र लाओसका प्रधानमन्त्री सोनेसाइ सिपानडोनसँग भेटवार्ता गर्ने तयारी छ।
यसअघि आइतबार ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग रात्रिभोजको अवसरमा अनौपचारिक भेटवार्ता गरेका थिए।