Logout

चर्चामा

कहिल्यै कुटाइ नखाएका, जेलमा नबसेकालाई पीडा कस्तो हुन्छ भन्ने के थाहा : ओली

1k Shares

काठमाण्डौ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले कहिल्यै केही कुटाइ नखाएका, जेल नबसी क्रान्तिकारी कुरा गर्नेहरूले सहिद परिवारका दुःख, घाइतेहरूका दुःख नबुझ्ने बताएका छन् । आज काठमाण्डौमा लोकतन्त्रका योद्धालाई सम्मान गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ​यस्तो बताएका हुन् ।

दशकौँ लामो समय जेल बस्दाको पीडा आफूले भोगेकाले पीडा कस्तो हुन्छ, आँसुको महत्त्व कस्तो हुन्छ, यातना र दमन कस्तो हुन्छ भन्ने कुरा आफूले थाहा पाएको उनले बताए ।   

उनले भने, ‘आन्दोलनको टुप्पामा बसेर, दुःख कष्ट नगरिकन, एक दिन जेल नपरि, एकदिन भूमिगत नभइ, वास्तवमा त्यसलाई भूमिगत भन्न सकिन्न, विदेशका राम्रै प्रबन्धमा बसेर आफू आन्दोलनको नेतृत्व गरेको भन्ने, अरू बेहाल भइरहँदा तिनीहरूको वास्ता नगर्ने प्रवृत्ति, आन्दोलनमा दुःख भोग्दै नभोगेकोलाई दुःख भनेको के थाहा । न पिटाइ खाएको छ अलिकति, कहिल्यै  पिटाइ खाएको छैन, कहिल्यै जेल परेको छैन, कहिल्यै नेल हतकडी लगाउनु परेको छैन, कहिल्यै भोकै बस्नु परेको छैन, क्रान्तिकारी कुरा गरेको छ, अरूलाई बहकाएको छ, भड्काएको छ, होमिदिएको छ, त्यस्ता मान्छेहरूले यो पीडा बुझ्दैनन् । तर हामीले त पीडा भोगेका छौँ ।

खानै नदिएर डेढ महिनासम्म तुरुममा राखेर थुनेर लगातार कुटपिट गर्दा कुटाइ खाँदा कस्तो हुन्छ हामीले भोगेका छौँ । कोही मान्छे देख्न, भेट्न नपाउने गरी चार वर्षसम्म अध्याँरा कोठाभित्र लगेर थुन्दा कस्तो हुन्छ त्यो हामीले भोगेका छौँ । परिवारबाट बिछोडिएर, आफन्तबाट बिछोडिएर लामो समयसम्म दशकौँभन्दा लामो १४र१५ वर्ष जेल बस्दा कस्तो हुन्छ हामीले भोग्या छौँ । कुटाइ खाँदाको पीडा कस्तो हुन्छ त्यो हामीले भोगेका छौँ । त्यसकारण कुटाइ खाने भनेको पनि एउटा घाइते जस्तै हो । ती पीडाहरू हामीले बुझेकै हुनाले हामीलाई पीडा कस्तो हुन्छ, आँसुको महत्त्व के छ, यातना र दमन कस्तो हुन्छ भन्ने कुरा हामीले भोगेका छौँ । ’

तत्कालीन समयमा माओवादीले हिंसात्मक आन्दोलन सञ्चालन गर्दा समेत आफूले विरोध गरेको उल्लेख गर्दै हिंसात्मक आन्दोलनले कहीँ पुगिँदैन भन्ने कुरा अडानका साथ राखेको उनले बताए । हिंसात्मक आन्दोलनबाट नागरिकले दुःख पाउने बाहेक केही हुन नसकेको ओलीको भनाइ छ ।   

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार