Logout

चर्चामा

एमाले दोस्रो विधान महाधिवेशन : २३९२ सहभागी, आजदेखि दिनगन्ती सुरु

1.3k Shares

काठमाडौं । नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा २३ सय ९२ जना सहभागी हुने भएका छन्। पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको मूल व्यवस्थापन समितिको बैठकमा संगठन विभागले प्रस्तुत गरेको प्रतिवेदन अनुसार सहभागीमध्ये २१ सय २८ जना प्रतिनिधि र २६४ जना आयोजक रहनेछन्।

२०७८ मा चितवनमा भएको १० औं महाधिवेशनका प्रतिनिधि मात्र विधान महाधिवेशनमा सहभागी हुने भएकाले कतिपय केन्द्रीय सदस्य आयोजकको हैसियतमा रहनेछन्। प्रतिनिधिलाई डिजिटल कार्ड उपलब्ध गराइने भएको छ।

भदौ २० देखि २२ गतेसम्म हुने महाधिवेशनलाई भव्य बनाउन सातदोबाटोदेखि गोदावरी सनराइज हलसम्म स्वागतद्वारहरू बनाइने, कम्तीमा ३ सय स्वयंसेवक परिचालन गर्ने र पत्रकारका लागि न्यूज डेस्क तथा रिपोर्टिङ पासको व्यवस्था गर्ने निर्णय भएको छ।

महाधिवेशनको नारा चाँडै सार्वजनिक गर्ने तयारी भइरहेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। उनले फ्लायार, भिडियो सामग्रीमार्फत सामाजिक सञ्जालमा प्रचार गर्ने तयारी पनि भइरहेको बताए।

सहभागीलाई कुनै शुल्क नलिइने भए पनि आवासको प्रबन्ध उनीहरूले आफैं गर्नुपर्नेछ। यातायातको व्यवस्था भने विभिन्न कमिटीले गर्नेछन्। स्वास्थ्य जाँचका लागि स्थलमा चिकित्सकसहितको तीन सिफ्ट स्वास्थ्य डेस्क रहनेछ।

महाधिवेशनमा राजनीतिक प्रतिवेदन अध्यक्ष केपी शर्मा ओलीले, विधान संशोधन प्रस्ताव उपाध्यक्ष विष्णुप्रसाद पौडेलले र सांगठनिक प्रतिवेदन महासचिव शंकर पोखरेलले प्रस्तुत गर्नेछन्।

महासचिव पोखरेलले महाधिवेशनलाई पार्टीको नीति र विधि तय गर्ने उत्सवका रूपमा लिन आग्रह गर्दै सबै समितिलाई तयारी तीव्र बनाउन निर्देशन दिएका छन्।

एमालेले आजदेखि महाधिवेशनको काउन्टडाउन (दिनगन्ती) पनि सुरु गर्ने भएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार