Logout

चर्चामा

राजन दाहालको आत्मसमर्पण प्रकरण फेरि चर्चामा : शान्तिमान कार्कीको खुलासाले माओवादी नेतृत्वमाथि प्रश्न

1k Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता तथा संघीय सांसद राजन दाहालको जनयुद्धकालीन आत्मसमर्पणको प्रसंग फेरि एकपटक राजनीतिक बहसको केन्द्रमा आएको छ। तत्कालीन मालेका जिल्ला सचिव तथा हाल नेकपा (एमाले)का नेता शान्तिमान कार्कीले सार्वजनिक रूपमा दाहालले आत्मसमर्पण गरेको पुष्टि गर्दै नयाँ खुलासा गरेपछि विवाद थप चुलिएको हो।

कार्कीले सामाजिक सञ्जालमा लेख्दै २०५५ सालमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा आत्मसमर्पण गरेका दाहाललाई आफैंले जिम्मा लिएको बताएका छन्। उनका अनुसार, “सिन्धुलीको डिएसपी नवीन अधिकारीमार्फत नेकपा (माले)को जिल्ला सचिवको हैसियतले त्यसबेलाका माओवादी उपसचिव विनोद दाहालको आग्रहमा राजनलाई प्रहरी हिरासतबाट जिम्मा लिने म नै हुँ।”

यसअघि शहीद नेता महेन्द्र श्रेष्ठका छोरा कीर्तिक श्रेष्ठले दाहालको आत्मसमर्पणको विषय उठाउँदै सामाजिक सञ्जालमा सोधेका प्रश्नहरूपछि यो प्रकरण पुनः चर्चामा आएको हो।

राजन दाहालमाथि टिप्पणी गर्दै कार्कीले माओवादी केन्द्रको वर्तमान नेतृत्व र वैचारिक धरातलमाथि पनि प्रश्न उठाएका छन्। उनले लेखेका छन्, “राजावादी, सिआईडी र भगौडाहरूलाई संगठित गरी कोर टिम बनाइयो। जनयुद्धका सहिद परिवार, बेपत्ता, घाइते, बन्दी र जनमुक्ति सेनानीहरूलाई पार्टीबाट बाहिर पुर्‍याउने काम यिनै कोर टिमले गर्‍यो।”

उनले माओवादी केन्द्रले सिन्धुलीका विभिन्न पालिकामा उम्मेदवार बनाएका व्यक्तिहरूमाथि समेत आक्षेप लगाउँदै बलात्कार, चोरी र भ्रष्टाचारमा मुछिएका व्यक्तिहरूलाई उम्मेदवार बनाएको बताए।

शान्तिमान कार्की स्वयं जनयुद्धकालमा युद्ध मोर्चामा रहेका व्यक्ति हुन्। उनी रामबहादुर थापा ‘बादल’सँगै माओवादी छाडेर एमालेमा प्रवेश गरेका थिए।

राजन दाहालको आत्मसमर्पणको पुरानो प्रसंगलाई लिएर सुरु भएको बहस अब केवल व्यक्तिगत विवादमा सीमित देखिँदैन। विश्लेषकहरूका अनुसार, यो प्रसंगले माओवादी आन्दोलनका मूल्य, नेतृत्वको चरित्र र आजको पार्टी अभ्यासमाथि गम्भीर पुनरावलोकन गर्नुपर्ने आवश्यकता देखाएको छ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार