काठमाडौँ। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अहिलेको अस्थिर राजनीतिक अवस्थाबाट मुलुकलाई निकास दिलाउन कांग्रेस नेतृत्वको सरकार आवश्यक रहेको बताएका छन् ।
मंगलबार चितवन पुगेका नेता सिंहले पत्रकारहरुसँग कुराकानी गर्दै वर्तमान सरकारले मुलुकलाई अस्थिरता तर्फ लगेको र नैतिकता गुमाएकाले मुलुकलाई विधिसम्वत तरिकाले निकास दिनु पर्ने बताए ।
उनले भने, ‘जनताले कांग्रेसलाई प्रतिपक्षमा बस्न भनेको तर देशको अवस्थालाई हेरेर, अस्थिर राजनीतिलाई स्थिर बनाउन र बाँकी समयमा विकास निमार्णका काम गरी निवार्चन गराउन कांग्रेसको नेतृत्वको सरकार आवश्यक छ ।’
उनले नेपाली कांग्रेसले पाएको जिम्मेवारी सधैं पूरा गरेको र अहिले पनि पूरा गर्ने बताए । मुलुकलाई दुर्घटनाबाट बचाउन ओली सरकारलई हटाउन कांग्रेस आफैं अग्रसर भएको उनको भनाइ छ ।
कांग्रेसका लागि महाधिवेशन कि सरकारको नेतृत्व महत्वपूर्ण रु भन्ने पत्रकारको प्रश्नमा नेता सिंहले भने, ‘हाम्रो लागि देश र जनता महत्वपूर्ण हुन् । अहिलेको अवस्थाबाट निकास दिलाउन हामी सरकारमा पनि जान्छौं । महाधिवेशन पनि गर्छौं ।’ कांग्रेसको आगामी महाधिवेशन तोकिएकै समयमा सम्पन्न हुने उनको भनाइ थियो ।