काठमाडौं । गोदावरी नगरपालिकाको वडा नं. ४ अन्तर्गत पर्ने बडिखेल क्षेत्रमा असार १५ — धान दिवस तथा दही चिउरा खाने दिन — स्थानिय जनतालाई सडकमै बन्दी बनाउने अवस्था सिर्जना भएको छ।
धान दिवसको उत्सव र ग्रामीण जनजीवनको पहिचान बनेको यो दिन बडिखेलबासीका लागि खल्लो बन्यो। बडिखेल जाने एक मात्र मुख्य बाटोमा बेसमेन्ट राख्ने नाममा पिच उप्काएर त्यसको साटो हिलो माटो र गार्बेल फालिएको छ, जसले गर्दा पैदल यात्रु मात्र होइन, एम्बुलेन्स वा कुनै आपतकालीन सवारी समेत आवतजावत गर्न नसक्ने स्थिति देखिएको छ।
कांग्रेसबाट निर्वाचित वडा अध्यक्षको प्रत्यक्ष समन्वयमा भईरहेको भनिएको सडकको काममा ठेकेदारको लापरबाही र निगरानीको पूर्ण अभाव देखिएको स्थानीयको गुनासो छ। स्थानीय बासिन्दाहरू भन्छन्, "काम गर्न नदिने होइन, तर योजनाबद्ध र जिम्मेवार शैलीमा काम हुनुपर्थ्यो।"
असार १५ मा खेतमा रमाइलो गर्ने, गाउँमा पाहुनाको सत्कार गर्ने र सामूहिक हर्षोल्लास मनाउने दिनमा नै बडिखेलबासी हिलोमा फँस्नु परेको यो अवस्थाले विकासको नाममा लापरबाहीको चरित्र उदाङ्गो पारेको छ।
स्थानीय युबा मनोज लामिछानेले भने, "जनताकै कर तिरोले खाने, अनि जनतालाई सास्ती दिने? यस्तो बेइमानी र बेवास्ताप्रति हामी चुप लाग्ने छैनौं।"
यस सम्बन्धमा वडा कार्यालय वा ठेकेदारबाट औपचारिक प्रतिक्रिया आइसकेको छैन।
अब प्रश्न उठ्छ — विकासको नाममा यस्तो दुर्व्यवस्था र योजनाविहीन निर्माण कति समयसम्म जनताले सहनुपर्ने? स्थानीयबासी जवाफको प्रतीक्षामा छन्।