Logout

चर्चामा

बंगलादेशमा विद्युत् निर्यातबाट मासिक २५ करोड आम्दानी: ऊर्जा मन्त्री खड्का

467 Shares

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बंगलादेशमा दैनिक ४० मेगावाट विद्युत् निर्यातबाट नेपालले मासिक २५ करोड रुपैयाँभन्दा बढी आम्दानी गर्ने बताएका छन्। आइतबार ऊर्जा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खड्काले आगामी पाँच महिनामा एक अर्ब २५ करोड रुपैयाँभन्दा बढी राजस्व आउने जानकारी दिए।

उनका अनुसार विद्युत् निर्यातको यो उपलब्धिसँगै नेपाल दक्षिण एशियाबाट तेस्रो मुलुकमा विद्युत् व्यापार गर्ने पहिलो देश बन्न सफल भएको छ। मन्त्री खड्काले यो उपलब्धिलाई राष्ट्रका लागि "गर्व र खुसीको क्षण" भन्दै स्वागत गरे।

नेपाल विद्युत् प्राधिकरणले शनिबार राति १२ बजेदेखि भारतीय प्रसारण लाइनमार्फत ४० मेगावाट विद्युत् बंगलादेशमा पठाउन थालेको हो। यो विद्युत् ढल्केबरस्थित ४०० केभी सबस्टेसनबाट भारतको मुजफ्फरपुर, बेहरामपुर हुँदै बंगलादेशको भेरमारा सबस्टेसनसम्म आपूर्ति गरिन्छ।

मन्त्री खड्काका अनुसार नोभेम्बर १५ सम्मका लागि १४ करोड ६८ लाख ८० हजार युनिट विद्युत् निर्यात गरिनेछ।

ऊर्जा क्षेत्रमा समृद्धिको सम्भावनालाई जोड दिँदै मन्त्री खड्काले १० वर्षभित्र २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गरी भारतलाई १० हजार र बंगलादेशलाई ५ हजार मेगावाट निर्यात गर्ने लक्ष्य राखिएको जानकारी दिए।

यसै क्रममा उनले हालै बजेटमा 'टेक एन्ड पे' भनिएको विषय भूलवश समावेश भएको उल्लेख गर्दै त्यसलाई हटाउने प्रक्रिया अघि बढाइएको पनि स्पष्ट पारे।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार