काठमाडौँ । नेपाल राष्ट्र बैंकका नयाँ गभर्नर नियुक्त गर्ने विषयमा निर्णय गर्न आज साँझ ५ बजे मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा गभर्नर नियुक्तिको सम्भावना उच्च रहेको सरकारी स्रोतले जानकारी दिएको छ।
गभर्नर नियुक्तिका लागि अर्थमन्त्री विष्णु पौडेलले गभर्नर सिफारिस समितिको बैठक बोलाइसकेका छन्। समितिले तयार पार्ने योग्य उम्मेदवारहरूको सूचीबाट मन्त्रिपरिषद्ले एक जनालाई राष्ट्र बैंकको गभर्नरमा नियुक्त गर्नेछ।
चैत २४ गतेदेखि नेपाल राष्ट्र बैंक गभर्नरविहीन छ। यसबीच अर्थतन्त्रमा देखिएको अनिश्चितता र मौद्रिक नीतिको अभावले दबाब बढ्दै गएको छ।
बैठकअघि प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए। राजनीतिक सहमतिका आधारमा गभर्नर नियुक्तिको प्रक्रिया अघि बढाउन छलफल भएको बुझिएको छ।
गभर्नरको नियुक्तिले बैंकिङ क्षेत्र, मौद्रिक नीति र समग्र आर्थिक वातावरणमा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ।