उदयपुर । उदयपुरमा हावाहुरीले विद्यालयको जस्तापाता उडाउँदा पठनपाठन प्रभावित भएको छ । बिहीबार राति चट्याङसहित आएको हावाहुरीले उदयपुरगढी गाउँपालिका–६ स्थित जगेटार माविको जस्तापाता उडाएको हो ।
‘राति एक्कासि आएको हावाहुरीले विद्यालयको जस्ता उडायो, खुल्ला आकाशमा चर्को घामका कारण धेरै समय पठनपाठन गर्न सकिएन,’ प्रधानाध्यापक वीरध्वज निरौलाले भने । हावाहुरीले जस्ता उडाउँदा तीन लाख बराबरको क्षति भएको उनको अनुमान छ ।
यस्तै, हावाहुरीले चौदण्डीगढी नगरपालिका–१० खैराझोडास्थित गीता पाण्डे, नवराज दुलाल र भरत साउदको घरको छानो उडाएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी हरिहरनाथ योगीले बताए । खैराझोराकै सुभाष अधिकारी, खगेन्द्र श्रेष्ठ, ध्रुव खत्रीको घरमा पनि क्षति पुगको छ ।
त्रियुगा नगरपालिका– १३ मा पनि हर्क श्रेष्ठको घरको छाना हावाले उडाएको योगीले बताए । बिहीबारको हावाहुरीले जिल्लाका विभिन्न स्थानमा घरको छाना उडाउँदा १८ लाख २० हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डीएसपी केदारमान दोङले बताए ।