कैलाली । अनलाइन टिभी पत्रकारितालाई थप जिम्मेवार, प्रभावकारी र व्यावसायिक बनाउने उद्देश्यले स्थापना गरिएको अनलाइन टिभी पत्रकार संघ नेपाल, सुदूरपश्चिम प्रदेश समितिले आफ्ना गतिविधिहरू तीव्र बनाएको छ। भर्खरै गठन भएको प्रदेश समितिले बुधबार धनगढीमा विभिन्न सरकारी निकाय, स्थानीय प्रशासन र सञ्चारसम्बद्ध संघसंस्थासँग परिचयात्मक तथा छलफल कार्यक्रम सम्पन्न गरेको हो।
कार्यक्रम अन्तर्गत संघका पदाधिकारीहरूले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, सामाजिक विकास मन्त्री मेघराज खडका, कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाल, सहायक प्रमुख जिल्ला अधिकारी किरन जोशी, धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपी हमाल र जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी बालनरसिंह राणासँग भेटघाट गरी अनलाइन पत्रकारिताका अवसर, चुनौती र योगदानबारे छलफल गरेका थिए।
छलफलका क्रममा मुख्यमन्त्री शाहले अनलाइन पत्रकारहरूलाई सत्य र आचारसंहितामा आधारित पत्रकारिता गर्न आग्रह गर्दै प्रदेश सरकार सदैव यस्ता प्रयासहरूको साथमा रहेको प्रतिबद्धता व्यक्त गरे । सामाजिक विकास मन्त्री खडकाले अनलाइन टिभीको बढ्दो प्रभावप्रति सरकार सचेत रहेको बताउँदै आवश्यक सहयोगका लागि सकारात्मक धारणा राखेका छन् ।
कैलालीका प्रमुख जिल्ला अधिकारी हमालले शान्ति सुरक्षा र सूचनाको प्रवाहमा अनलाइन पत्रकारहरूको भूमिका उल्लेखनीय रहेको धारणा राख्नुभयो। धनगढीका नगर प्रमुख गोपी हमालले नगर विकासका गतिविधि जनतासम्म पुर्याउन अनलाइन टिभीको योगदानको प्रशंसा गरेका छन् ।
त्यस्तै, एसपी राणाले अपराध नियन्त्रण र जनचेतनाका क्षेत्रमा सञ्चार माध्यमको साथमा काम गर्न प्रहरी सधैँ तयार रहेको बताए।
संघका पदाधिकारीहरूले नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समिति, प्रेस चौतारी, प्रेस सेन्टर, प्रेस युनियनलगायत सञ्चारसँग सम्बन्धित संस्थाहरूसँग समेत छलफल गरेका छन्।
नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष भरत शाहले अनलाइन पत्रकार संघसँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गर्दै पत्रकारिताको गरिमा कायम राख्न सबै पत्रकार एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।
संघका केन्द्रीय सदस्य विरेन्द्र धामीले अनलाइन पत्रकारिताको व्यावसायिक विकास र सुदूरपश्चिमको समृद्धिमा सञ्चार क्षेत्रको भूमिकालाई निर्णायक रहेको बताए।
त्यस्तै, संघका प्रदेश अध्यक्ष भक्त राज जोशीले सत्य, तथ्य र जिम्मेवार पत्रकारितालाई प्राथमिकतामा राख्दै सुदूरपश्चिमको विकास र जनचेतनामा योगदान पुर्याउने प्रतिबद्धता जनाए। उहाँले अनलाइन पत्रकारितालाई थप व्यवस्थित र विश्वसनीय बनाउन सञ्चारकर्मीहरूबीच सहकार्य अपरिहार्य रहेको उल्लेख गरे ।
संघका प्रदेश महासचिव टिकाराम साउदले संघले निकट भविष्यमा विभिन्न कार्यक्रमहरू आयोजना गर्ने तयारी गरिरहेको जानकारी दिएका छन् ।