जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओली जनकपुरधाम आउन ढिला भएपछि मधेश प्रदेश सभा बैठकको समय तालिका सरेको छ । मंगलबार प्रधानमन्त्री प्रदेश सभामा विशेष सम्बोधन गर्न आउन लागेका छन् । प्रदेश सभाले १० बजेको लागि बैठक आह्वान गरेका थिए ।
तर, प्रधानमन्त्रीको अवागमनमा ढिलाइ भएपछि समय सारेर १२ बजेर १० मिनेमा सुरु हुने अर्को सूचना गरिएको प्रदेश सभा सचिवालले जनाएको छ । प्रदेश सभा कार्य सञ्चालन नियामवलीको नियम ६ को उपनियम २ अनुसार सूचना भएको दुई घन्टाभित्र बैठक सञ्चालन नभए सो बैठक स्थगित गरी अर्को बैठकको सूचना जारी गर्नुपर्ने व्यवस्था छ ।
प्रधानमन्त्री दोस्रो पटक मधेश प्रदेश सभामा सम्बोधन गर्न आउन लागेको हुन् । यसअघि लालबाबु राउत मुख्यमन्त्री हुँदा पनि ओलीले ०७५ भदौ २ गते सम्बोधन गरेका थिए । प्रधानमन्त्री मधेश प्रदेश सभाको विशेष सम्बोधन सकाएर सिराहा आम सभालाई सम्बोधन गर्न जाने कार्यतालिका रहेको छ ।