Logout

चर्चामा

फिल्म ‘लाज शरणम’ को प्रचारप्रसार रोक्न पाटन उच्च अदालतको आदेश

656 Shares

पाटन उच्च अदालतले प्रदर्शन तयारीमा रहेको फिल्म ‘लाज शरणम’ को प्रचारप्रसार रोक्न अन्तरिम आदेश जारी गरेको छ। मंगलबार न्यायाधीशद्वय लालबहादुर कुँवर र हेमन्त रावलको संयुक्त इजलासले उक्त आदेश जारी गरेको हो।

पूर्वमन्त्री मोहम्मद अफताव आलमको मुद्दामा सुनुवाइ गर्दै अदालतले फिल्ममा आलमको अनुहारसँग मिल्ने गरी पात्र प्रस्तुत गरिएको भन्दै सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा यसको प्रचारप्रसार नगर्नू-नगराउनू भनी आदेश दिएको हो।

पूर्वमन्त्री आलमले चलचित्र विकास बोर्डलाई विपक्षी बनाउँदै रिट दायर गरेका थिए। उनले आफ्नो अनुहारसँग मिल्ने मुखाकृति, पहिरन, जीउडाल, कपालको शैली, हाउभाउ र लवज अनुमतिबिना प्रयोग गरिएको दाबी गर्दै फिल्म रोक्न माग गरेका थिए।

अदालतको आदेशमा भनिएको छ, “निवेदकको संविधान र कानूनी हकमा आघात परेको देखिएकाले केन्द्रीय चलचित्र जाँच समितिले अनुमति नदिई रोक्न सक्ने देखिन्छ। त्यसैले, निवेदकको मुखाकृति र आवरणसँग हुबहु मिल्ने गरी अभिनय गरिएको चलचित्र ‘लाज शरणम’ को विज्ञापन, प्रचारप्रसार, तथा सोसम्बन्धी पोस्ट प्रकाशन तथा प्रसारण नगर्न-नगराउन आदेश दिइएको छ।”
जेपीटी क्रिएसनले निर्माण गरेको फिल्म ‘लाज शरणम’ फागुन १४ गते महाशिवरात्रीका दिन प्रदर्शन हुने तयारीमा छ। निर्माताले बुधबार ट्रेलर सार्वजनिक गर्ने योजना बनाएका थिए, तर अदालतको आदेशले फिल्मको प्रचारप्रसार प्रभावित हुने देखिएको छ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार