काठमाडौँ । सभामुख देवराज घिमिरेले सत्तापक्ष र प्रतिपक्षी दलका प्रमुख सचेतकहरूलाई छुट्टाछुट्टै भेटिरहेका छन् । संघीय संसद्को हिउँदे अधिवेशन आह्वान भइसकेको अवस्थामा सभामुखले घिमिरेले सत्तापक्ष र प्रतिपक्षका प्रमुख सचेतकहरूलाई छुट्टाछुट्टै भेट्न बोलाएका हुन् ।
सभामुखको सचिवालयका अनुसार घिमिरेले सत्तापक्षका मुख्य सचेतक र प्रमुख सचेतकसँग आइतबार ११ बजेदेखि भेटिरहेका छन् । सभामुखका प्रेस विज्ञ शेखर घिमिरेका अनुसार प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतकहरूसँग आइतबार २ बजे बोलाएका छन् ।
सत्ता र प्रतिपक्षका प्रमुख सचेतकहरूसँग सोमबार ११ बजे संयुक्त रुपमा भेट्ने कार्यक्रम रहेको पनि अधिकारीले जानकारी दिए । संघीय संसद्का राष्ट्रिय सभा र प्रतिनिधिसभाको अधिवेशन माघ १८ गते १ बजेका लागि आह्वान गरिएको छ ।
सभामुख घिमिरेले मंगलबार कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ । यसबीचमा सभामुखले संसदीय समितिका सभापतिहरूसँग एक्लाएक्लै छलफल गरिरहेको सभामुखको सचिवालयले जनाएको छ । खासगरी विधेयक विचाराधीन रहेका समितिका सभापतिहरूसँग सभामुखले छलफल गरिरहेका हुन् ।