चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नं. ११ बाइपास सडक खण्डमा चेकजाँचका क्रममा प्रहरीबाट कुटिएका युवक जुगेडीमाई टोलका अमृत कुमाल रहेको खुलेको छ ।
उनलाई पुस १५ गते राति प्रहरीले कुटेको भिडियो माघ ६ गते सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । तत्काल कुट्ने प्रहरी र कुटिने व्यक्तिको पहिचान भएको थिएन । तर सोमबार प्रहरीले ती युवकलाई कुट्ने प्रहरी सहायक निरीक्षक (असई) बुद्धिबहादुर भुजेल घर्ती रहेको र कुटिने व्यक्ति अमृत कुमाल रहेको जनाएको छ ।
असई भुजेलले आचरण विपरीतको काम गरेको भन्दै प्रहरीले उनलाई सोमबार निलम्बन गरेको छ । निलम्बनको निर्णय हुँदा असई भुजेल भने तालिममा थिए । जिल्ला प्रहरी कार्यालय चितवनले यस घटनाबारे अनुसन्धान गर्न प्रहरी नायव उपरीक्षक (डीएसपी) ज्ञानकुमार महतोको नेतृत्वमा पाँच सदस्यीय समिति गठन पनि गरेको छ ।
समितिले घटनामा संलग्न प्रहरी तथा कुटाइ खाने युवासँग छलफल गर्ने र सत्यतथ्य छानबिन गर्ने जिम्मेवारी पाएको छ । तर कुटाइ खाने युवक सम्पर्कमा नरहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । लागुऔषध दुर्व्यसनीविरुद्ध परिचालित थियो प्रहरी भरतपुर महानगरपालिका क्षेत्रको गणेशथान क्षेत्रमा स्थानीयको आग्रहमा प्रहरी टोली खटिन थालेको थियो । सो क्षेत्रमा जिल्ला प्रहरी कार्यालय चितवनले अस्थायी प्रहरी पोष्ट स्थापना गरी असई भुजेलको नेतृत्वमा ७ जनाको टोली खटाएको थियो । असई भुजेल एक वर्षदेखि त्यहाँ कार्यरत थिए । प्रहरीकै पहलमा स्थानीयले लागुपदार्थ दुर्व्ससनी सचेतना तथा न्यूनीकरण समिति गठन गरेका थिए ।
प्रहरीको सहयोगमा सो समितिले लागुपदार्थ सेवन गर्ने व्यक्तिहरूलाई नियन्त्रणमा लिने, सम्झाइ बुझाइ गर्ने जस्ता कामहरु गर्दै आएको थियो । प्रहरीले लागुऔषध दुर्व्यसनीविरुद्ध ‘पाइलट प्रोजेक्ट’अभियानको रुपमा समुदायसँग मिलेर काम गरिरहेको थियो ।
असई भुजेल सो अभियानमा सक्रिय भएर लागेकाले स्थानीयमाझ राम्रोसँग परिचित थिए । भुजेल निलम्बन भएको सूचना पाएपछि स्थानीयको एक टोली सोबारे बुझ्न जिल्ला प्रहरी कार्यालयसम्म आएर घटनाबारे जानकारी लिएको थियो । कुटपिट गलत भए पनि असई भुजेलले लागुपदार्थ दुर्व्यसनी नियन्त्रणमा महत्त्वपूर्ण काम गरेको गणेशथानका एक स्थानीयले बताए । यस्तो थियो घटनाक्रम सधैंझैं पुस १५ गतेको दिन राति गणेशथान अस्थायी प्रहरी पोष्टका प्रमुख असई बुद्धिबहादुर भुजेल घर्ती नेतृत्वको टोली चेकिङका लागि बाइपास रोड खण्डमा खटिएको थियो । त्यसबेला ३ वटा मोटरसाइकल र एउटा स्कुटर चढेका व्यक्तिहरू चेकिङमा परेका थिए ।
ठूलो आवाज आउने बाइकमा युवाहरूलाई देखेपछि प्रहरी टोलीले रोकेको थियो । केही युवाहरू मोटरसाइकल र स्कुटर छाडेर भागेका थिए । तर अमृत कुमाल भने उम्किन सकेनन् । उनलाई ‘माथिको पावर लगाउन खोज्ने’ भन्दै असई भुजेलले कुटपिट पनि गरे । त्यसपछि उनलाई नियन्त्रणमा लिएर प्रहरीले अस्पतालमा स्वास्थ्य जाँच गराएको थियो । अस्पतालको रिपोर्टबाट उनले मादकपदार्थ सेवन (मापसे) गरेको देखिएपछि एक रात हिरासतमा पनि राखेको जिल्ला प्रहरी कार्यालयका डीएसपी ज्ञानकुमार महतो बताउँछन् । ‘एक रात प्रहरीको हिरासतमा बसेका कुमाललाई भोलिपल्ट पुस १६ गते ट्राफिक जरिवाना लगाई आमासहितका परिवारका सदस्यहरूको जिम्मा लगाइयो,’
डिएसपी महतोले भने, ‘अघिल्लो दिन अस्पतालमा चेक गर्न लैजाँदा र बिहान परिवारलाई जिम्मा लगाउँदा पनि उनले प्रहरीले कुटेको भनेनन्, त्यहाँ खटिएका प्रहरीले पनि केही भनेनन् । घटना भएको करिब एक महिना पछि मात्रै यो इस्यु बाहिर आयो ।’ गणेशथानका एक युवकका अनुसार अमृत यसअघि पनि कानुन उल्लंघनको आरोपमा पटक–पटक प्रहरी नियन्त्रणमा पर्ने गरेका थिए । ‘असई भुजेलले ती युवकलाई चिनिरहेका थिए, उनीबारे जानकार पनि थिए, पटक–पटक दुःख दियो भनेर आवेशमा आएर कुटपिट गरेको पनि हुन सक्छन्,’ गणेशथानका ती युवकले भने, ‘तर रिस नै उठे पनि त्यसरी कुटपिट नगरेको भए हुन्थ्यो ।’
घटनाबारे सत्यतथ्य पत्ता लगाउन कुट्ने र कुटाइखाने दुवै पक्षको कुरा सुन्नुपर्ने भएकाले प्रहरीले अमृतकको खोजी गरिरहेको जनाएको छ । ‘हामीले उनको खोजी गरिरहेका छौं, उनका अरु साथीहरूको पनि खोजी भैरहेको छ’ छानबिन समिति संयोजक डीएसपी महतोले भने, ‘केही दिनमा नै थप कुरा थाहा भैहाल्छ ।’