Logout

चर्चामा

रवि लामिछाने पक्षका वकिलको बहस सुरु, सहकारी प्रकरणको दोष जिबी राईमाथि लगाउन आग्रह

603 Shares

पोखरा । सूर्यदर्शन सहकारीको रकम हिनामिनासम्बन्धी मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्षका वकिलले अदालतमा बहस सुरु गरेका छन्। जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासमा सोमबार रवि पक्षका तीन जना वरिष्ठ अधिवक्ताले बहस गरेका हुन्।

पूर्व महान्यायाधिवक्ता रमन श्रेष्ठ, वरिष्ठ अधिवक्ता शुशिल पन्त र सुरेन्द्र थापाले रवि लामिछानेलाई यो मुद्दामा मुछ्न नपाइने भन्दै सहकारी प्रकरणको दोष जिबी राईमाथि लगाउनुपर्ने तर्क गरे। रवि पक्षका १७ जना वकिलमध्ये तीनजनाले सोमबार बहस गरेका छन् भने बाँकी वकिलले भोलि बहस जारी राख्नेछन्।

सोमबारको बहसमा अधिवक्ताहरूले सहकारीको रकम हिनामिना र ठगीका सबै क्रियाकलाप जिबी राईले गरेको दाबी गरे। ‘रविलाई मुछ्नुपर्ने कुनै आधार छैन। ठगी, बदमासी र सहकारीको रकम हिनामिनाको मुख्य दोषी जिबी राई नै हुन्। जवाफदेही पनि उनी नै हुनुपर्छ,’ अधिवक्ता श्रेष्ठले भने।

रमन श्रेष्ठसहितका वकिलले सहकारीको रकम फिर्ता गर्न गोर्खा मिडिया नेटवर्क प्रालिमा भएका सम्पत्ति बिक्री गर्न सकिने तर्क गरेका छन्। ‘डिप्रिसिएसन कटाएर पनि ४४ करोडभन्दा बढी सम्पत्ति छ। यसलाई बिक्री गरेर बचतकर्ताको रकम फिर्ता गर्न सकिन्छ,’ श्रेष्ठले भने।

अधिवक्ताहरूले यो मुद्दा संसदको हस्तक्षेप र सरकारी वकिलमाथि दबाब दिई दर्ता गरिएको आरोप लगाए। ‘संसदले आफ्नो नभएको अधिकार प्रयोग गरेर यो मुद्दा अघि बढायो। कानुनी आधार नै नरहेको मुद्दामा रविलाई बारम्बार फसाउन खोजिएको छ,’ अधिवक्ता श्रेष्ठले भने।

वरिष्ठ अधिवक्ता शुशिल पन्तले रविले २०५३ सालमा अंशवाफत पाएको जग्गालाई मुद्दामा जोडेर अवैध घोषित गर्न खोजिएको प्रति आपत्ति जनाए। ‘२०५३ सालमा पाएको जग्गालाई अहिले आएर जफत गर्न खोज्नु बदनियत हो। यस्तो खालको तर्क कानूनी रूपमा मान्य हुन सक्दैन,’ पन्तले भने।

रवि लामिछानेको पक्षमा बहस गर्न १७ जना वकिलले नाम टिपाएका छन्। सोमबार तीन जना वकिलले बहस गरेपछि भोलि पनि बाँकी वकिलहरूले बहस गर्ने कार्यक्रम रहेको छ।

सूर्यदर्शन सहकारी प्रकरणमा अदालतको निर्णयले मात्र होइन, राजनीतिक माहोलले पनि ठुलो असर पार्ने देखिन्छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार