Logout

चर्चामा

समिति बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेस र एमालेको निर्देशन

692 Shares

काठमाडौँ । सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसले संसदीय समितिका बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन दिएका छन् । 

दुई दलका तर्फबाट बनेको विधेयक कानुन निर्माण सहजीकरण कार्यदलको बैठकले सांसदहरुलाई  यस्तो निर्देशन दिएको हो । 

बैठकपछि एमाले प्रमुख सचेतक महेश बर्तौलाले संसदीय समितिमा रहेका विचाराधीन विधेयकहरूका बारेमा छलफल भएको बताए । उनले विधेयकहरूमा छलफल भइरहेको अवस्थामा दुई दलका तर्फबाट विधेयकमा उठेका विषयबारे आगामी यात्राका सन्दर्भमा समीक्षा गरेको बताए । 

‘विशेषगरी ६ वटा समितिमा विधेयकहरू छन् । अर्थ समितिमा पाँच वटा, राज्य व्यवस्थामा चार, शिक्षामा दुई, पूर्वाधारमा दुई, कानुनमा एक र उद्योग समितिमा एउटा’, बर्तौलाले भने, ‘जहाँ विधेयक रहेका समितिमा दुवै दलले फोकल पर्सन तय गरेको छौँ ।’

उनले दुवै दलका फोकल पर्सनसहितको बैठक पुस २४ गते बस्ने जानकारी दिदै समिति सभापति र मन्त्रीहरूसँग समेत छलफल गर्ने बताए । 

‘संसदीय समितिका बैठकमा माननीयहरूलाई प्राथमिकताका साथ उपस्थित हुने र विधेयकलाई अघि बढाउन आवश्यक भूमिका निर्वाह गर्न आआफ्ना तहबाट अपिल भएको छ’, बर्तौलाको भनाइ छ ।   

सिंहदरबार स्थित  नेकपा एमाले संसदीय दलको कार्यालयमा बसेको कार्यदल बैठकमा नेकपा एमाले संसदीय विभाग प्रमुख योगेश भट्टराई नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम कुमार घिमिरे, नेपाली कांग्रेस संसदीय विभाग  प्रमुख जीवन परियार, नेपाली कांग्रेसका सचेतक सुशीला थिङ , नेकपा एमालेका सचेतक सुनिता बराल लगायत सहभागी थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार