काठमाडौं । नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमले औपचारिक रूपमा नेकपा एकीकृत समाजवादी (नेकपा एस) प्रवेश गर्ने तयारी गरेका छन्। ‘जसले अध्यक्ष पद दिन्छ, म त्यतै जान्छु’ भन्दै आएका गौतमले नेकपा एसको वरिष्ठ नेता स्वीकार गरेका छन् ।
गौतम नेकपा एसमा प्रवेश गरेपछि, पार्टीमा उनको वरियता अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालपछि तेस्रो स्थानमा हुनेछ। वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे चौथो वरियता स्थानमा रहनेछन्।
गौतमले यसअघि नेकपा एकता राष्ट्रिय अभियान गठन गरी पार्टी एकताको प्रयास गरेका थिए। नेकपा एससँग औपचारिक र अनौपचारिक वार्ता पछि उनले पार्टीको वरिष्ठ उपाध्यक्ष बन्ने प्रस्ताव स्वीकार गरेका हुन्।
नेकपा एसको महाधिवेशनले पारित गरेको ‘नेपाली विशेषताको समाजवादी कार्यक्रम’लाई स्वीकार्दै गौतम पार्टीमा सक्रिय हुने सहमति भएको छ। यसअघि २०७७ असोजमा तत्कालीन केपी शर्मा ओली सरकारको सिफारिसमा उनलाई राष्ट्रिय सभा सदस्य मनोनीत गरिएको थियो।
गौतमको आगमनपछि नेकपा एमालेका पूर्व अध्यक्ष झलनाथ खनाल र पूर्व महासचिव माधवकुमार नेपालको सहकार्य थप सुदृढ हुने अपेक्षा गरिएको छ। गौतमले ०७८ भदौ १८ गते नेकपा (एमाले) परित्याग गरेपछि कम्युनिस्ट पार्टीहरूबीच एकता अभियान अघि बढाएका थिए।