दैलेख । कर्णालीको झोलुङ्गे पुलमा फसेका खच्चडको उद्धार जारी छ । झोलुङ्गे पुल पार गर्ने क्रममा लठ्ठा चुँडिएपछि अड्किएका १६ वटा खच्चडको पुलको तार काटेर उद्धार शुरू भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी सुनिल दाहालले जानकारी दिए ।
‘पुलको जाली काटेर खच्चड खोलामा खसालिएको हो,’ उनले भने, ‘अहिलेसम्म पाँच वटा खच्चड आफैं पौडिएर निस्किएका छन् ।’ उनका अनुसार पुललाई सिधा पारेर उद्धारको प्रयास गरिए पनि असम्भव देखिएपछि तार काटेर उद्धार थालिएको हो । उद्धारका लागि दुवै जिल्लाका सुरक्षाकर्मी खटिएका छन् ।
पुलमा पाँच जना व्यापारीका १६ वटा खच्चड फसेका छन् । नजिकै पक्की पुल रहे पनि व्यापारीले झोलुङ्गे पुलबाट एकैचोटि धेरै खच्चड लैजान खोज्दा दुर्घटना हुन पुगेको स्थानीयले दाबी गरेका छन् । यो झोलुङ्गे पुलले सुदूरपश्चिम र कर्णाली प्रदेशलाई जोड्ने गर्दछ । पुल अछामको पञ्चदेवल विनायक नगरपालिका ९ र दैलेखको आठबीस नगरपालिका ४ लाई जोड्ने काम गर्दछ ।