काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले गठबन्धन सरकारले नै तस्करी काण्ड चलाइरहेकाे बताउनुभएकाे छ ।
दीपेन्द्रराज गिरी स्पाइनल नेत्र प्रतिष्ठानको उद्घाटन समाराेहलाई शनिबार भक्तपुरमा सम्बाेधन गर्दै अध्यक्ष ओलीले गठबन्धन सरकार बनेपछि देशमा विकृत्ति, विसंगती र तस्करी माैलाएकाे बताउनुभयाे ।
तस्करी काण्ड चलाएर देश विकास हुनै नसक्ने उहाँले बताउनुभयाे । अध्यक्ष ओलीले देशलाई सफल बनाउने हाे भने तस्करी काण्ड चलाउनै नहुने बताउनुभयाे । उहाँले भन्नुभयाे - 'म काण्डहरु चलेका भनिराखेको छैन, चलाएका भनिराखेको छु, यस्ता काण्ड चलाउनु हुँदैन, यस्ता काण्डहरु चलाएर अनि देश विकास हुन्छ ? चील आयो चील आयो भन्ने, तर कुखुरा एकातिर बोकेर कुँद्ने ।'
अहिले देशकाे अवस्था अत्यन्त नाजुक रहेकाे भन्दै अध्यक्ष ओलीले हरेक नेपालीले यस नाजुक स्थितिमा परिवर्तन ल्याउनका लागि साेच्नुपर्ने बताउनुभयाे । देशकाे मूल्यमा कुनै व्यक्तिका स्वार्थ चलाउन नसकिने उहाँले प्रष्ट पार्नुभयाे ।
सुन फल्छ भनेर काठमाडाैं आएकाे यहाँ त नुन पनि पाइने रहेनछ भनेर एक जना कलाकारले भनेकाे सुनाउँदै उहाँले गठबन्धन सरकार बनेपछि सुन तस्करी काण्डले कीर्तिमान राखेकाे बताउनुभयाे । अध्यक्ष ओलीले भन्नुभयाे - 'ब्रेक सु मा सुनैसुन, भेपमा सुन, सिगरेट खान खाेज्याे सुनैसुन, पानी चलाउने माेटर ल्यायाे त्यसमा सुनैसुन, जे छाेयाे त्याे सुनैसुन, स्वर्ण युग आयाे भन्दैछ सरकार, यति सुन आएकाे छ फेरि स्वर्णयुग नआए कहिले आउँछ त भन्दैछ सरकार, तपाइँ भन्दै हुनुहुन्छ सरकारको विरोध गरेजस्तो हुँदैन त्यसो भन्दा, स्वर्ण युग नै आएको छ नि, जे छाेयाे सुन ।'
केरुङ भन्सारबाट आउने ट्रकमा समेत सुन तस्करी भइरहेकाे भन्दै उहाँले पहिला पहिला राताे चन्दन उत्तरतिर लगिने तर अहिले उत्तरतिरबाट सुन ओरालाे झार्ने काम भइरहेकाे बताउनुभयाे ।
देशमा देखिएका विकृति विसंगती राेक्न सकिने र राेक्नुपर्ने अध्यक्ष ओलीले बताउनुभयाे । नेपाल आफूहरुले बनाउन सक्ने बताउँदै उहाँले भन्नुभयाे - 'हाम्राे देश हामीले बनाउन सक्छाैं, बनाउनुपर्छ, अरु कसैले बनाउँदैन ।'
शिक्षा सुधाराैं भनेर शिक्षकहरु एक दिन सडकमा निस्किँदा विद्यार्थीकाे पढाइ बर्बाद भयाे भनेर कराउनेहरु शिक्षण संस्था तथा विश्वविद्यालयमा १ सय ३८ ताला लाग्दा भने चुँ नबाेलेका अध्यक्ष ओलीले बताउनुभयाे । शिक्षण संस्थामा ताला लगाएर गलत काम भयाे कारबाही गराैं भन्दा आफ्ना मान्छे परेपछि कुनै कारबाही गर्ने कदम सरकारले नचालेकाे उहाँले बताउनुभयाे ।
देशप्रति इमान्दार भएर काम गर्नुपर्ने र अगाडि बढ्नुपर्ने अध्यक्ष ओलीले बताउनुभयाे । अहिलेकाे स्थितिमा सकारात्मक परिवर्तन ल्याउनैपर्ने उहाँले बताउनुभयाे । हाम्राे देश अरु कसैले आएर नबनाइदिने भन्दै अध्यक्ष ओलीले आफूहरुकाे गन्तव्य समृद्ध नेपाल सुखी नेपाली रहेकाे बताउनुभयाे । आफूले अघि सारेकाे राष्ट्रिय आकांक्षा भएकाले विराेधीहरुले सिधै उच्चारण नगरेर ताेडमाेड गरेर त्यही नै भन्ने गरेका अध्यक्ष ओलीले बताउनुभयाे ।
सबैभन्दा महत्वपूर्ण कुरा समृद्धि र न्याय भएकाे भएकाे अध्यक्ष ओलीले बताउनुभयाे । जैविक र मानवीय यथाेचित परिपूर्तिबाट सुख प्राप्त हुने उहाँले बताउनुभयाे ।
स्वास्थ्यकाे विषयलाई कमजाेरी नभएर तागत बनाएर अगाडि बढ्नुपर्ने अध्यक्ष ओलीले बताउनुभयाे । उहाँले भन्नुभयाे - 'शारीरिक रुपमा म उहिले अस्वस्थ थेँ, पाेहाेर ज्वराे आएकाे थियाे भनेर अहिले बिरामी हुन्छ मान्छे ? पाेहाेरपरार मेराे मृगाैला फेल भएकाे थियाे मैले प्रत्यराेपण गरे, नयाँ मृगाैला फेरेकाे छु, सिद्धियाे नि त कुरा, शारीरिक र मानसिक रुपमा ठिक छु ।'
सहयाेग सबैकाे लिनुपर्ने तर लाेभ गर्न नहुने अध्यक्ष ओलीले बताउनुभयाे । उहाँले भन्नुभयाे - 'सहयाेग त सबैसँग लिनुपर्छ, लाेभ गर्नु हुँदैन, याे समाज सुन्दर बनाउनका लागि सहयाेग लिनैपर्छ, मैले त झन् सहयाेग गर्नुस् भन्नैपर्छ, भारतमा सुवाषचन्द्र बाेसले भनेका थिए - तपाइँ रगत दिनुस् म आजादी दिनुस्, तपाइँहरु साथ दिनुस्, म समृद्ध नेपाल सुखी नेपालीकाे परिकल्पना साकार पार्छु, त्याे मैले भन्नैपर्छ ।'
अनुचित अपेक्षा गर्न नहुने बताउँदै अध्यक्ष ओलीले भन्नुभयाे - 'त्यसकारण म दीपेन्द्रराज गिरीजीलाई भन्न चाहान्छु- अनुचित अपेक्षा नगराैं, कुनै कुराप्रति अनुचित आसक्ति नराखाैं, लाेभ नगराैं, सबैकाे सहयाेगकाे अपेक्षा गराैं ।' दीपेन्द्रराज गिरीजीलाई साथ सहयाेग गर्न पनि उहाँले सबैसँग आग्रह गर्नुभयाे ।
आफूले पहिलाे संविधानसभाले संविधान बनाउन नसक्ने र दाेस्राे संविधानसभाले बनाउन सक्ने बताएकाे र पछि त्यस्तै भएकाे उहाँले स्मरण गर्नुभयाे ।
एकपटक धक्का परेपनि फेरि पुर्नताजगीसाथ अगाडि बढ्न र सफलता प्राप्त गर्न सकिने भन्दै अध्यक्ष ओलीले त्याे कुरा संविधानसभाबाट संविधान जारी भएकाे एेतिहासिक घटनाबाटै नै पुष्टि भएकाे बताउनुभयाे । देशलाई र देशकाे स्वार्थलाई केन्द्रमा राखेर काम गर्नुपर्ने अध्यक्ष ओलीले बताउनुभयाे ।