काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले निष्कासित नेता ढाकाकुमार श्रेष्ठले मन्त्री बनाउन तीन करोड पैसा मागेको आरोप लगाएका मनोजजंग थापामाथि कारबाही प्रक्रिया अगाडि बढाएको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग श्रेष्ठले आफूलाई मन्त्री बनाउन रविका कोर टिमले पैसा मागेको अडियो सार्वजनिक भएपछि उनी पार्टीबाट निष्कासित भएका थिए ।
पछिल्लो समय श्रेष्ठले मन्त्री बनाउन थापाले तीन करोड मागेको कुरा सञ्चार माध्यममार्फत खुलासा गरेका छन् । सोही विषयलाई लिएर रास्वपाले बुधवार विज्ञप्ति जारी गर्दै थापामाथि कारबाही प्रक्रिया अगाडि बढाएको जानकारी दिएको छ ।
‘केन्द्रीय अनुशासन आयोगका प्रमुखसमेतको उपस्थितिमा हिजो बसेका पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा यस विषयमा छलफल भएको थियो । यस सम्बन्धमा केन्द्रीय अनुशासन आयोगबाट केन्द्रीय सदस्य मोहनजंग थापालाई सोधपुछ तथा अनुसन्धानको प्रक्रिया अगाडि बढाइएको छ,’ जारी विज्ञप्तिको ६ नं. बुँदामा उल्लेख छ ।
साथै पार्टीका कुनै नेताले पैसाले लिएको प्रमाणसहित आएमा ७२ घण्टाभित्र कारबाही गर्नेसमेत विज्ञप्तिमा उल्लेख छ ।