Logout

चर्चामा

काठघरमा बसेको एमाले बैठकले गर्‍यो चार निर्णय

1k Shares

काठमाडौं । नेकपा (एमाले) ले पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सञ्चालन गर्ने भएको छ।

बुधबार सिराहाको सर्रे अम्बासस्थित काठघरमा बसेको २५ औं सचिवालय बैठकले मंसिरको तेस्रो साता केन्द्रीय कमिटी बैठक आयोजना गर्ने र त्यसैले बैतडीको झुलाघाटदेखि पाँचथरको चिवा भञ्ज्याङसम्म युवा केन्द्रित अभियानको खाका बनाउने निर्णय गरेको हो।

‘अहिले हामीले मंसिरको तेस्रो साता धनगढीमा केन्द्रीय कमिटी बैठक बोलाउने, मंसिरमै पोलिटब्युरोको बैठक डाक्ने निर्णय गरेका छौं,’ एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरूङले भने।

त्यस्तै आजको बैठकले थपिएका दुई केन्द्रीय सदस्य केदार न्यौपाने र छक्कबहादुर लामाको कार्यविभाजन पनि गरेको उनले बताए।

चौथो महाधिवेशन आयोजना गरिएको स्थलमा बैठक बसेकाले त्यतिबेला तय भएको राजनीतिक, वैचारिक कार्यदिशा आज पनि उत्तिकै सान्दर्भिक रहेकाले त्यसलाई थप विकास गर्ने प्रस्ताव पारित गरिएको उनले बताए।

२०४६ साल भदौ ९ गतेदेखि १४ गतेसम्म त्यसबेलाको नेकपा (माले)ले विष्णुपुरकट्टीमा काठेघर बनाएर चौथो महाधिवेशन आयोजना गरेको थियो। त्यो महाधिवेशनले माओत्सेतुङ विचारधारा त्याग्दै पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवादी, लेनिनवादी तय गरेको थियो। शान्तिपूर्ण, बहुदलीय प्रतिस्पर्धात्मक राजनीतिक कार्यदिशा पनि तय गरेको थियो। नेपाली कांग्रेससँग सहकार्य गर्दै पञ्चायतविरूद्ध संघर्ष गर्ने कार्यनीति पास गर्दै ४ वैकिल्पकसहित २० जनाको केन्द्रीय कमिटी चुनेको थियो।

२०४६ साल भदौ १४ गते नै बसेको केन्द्रीय कमिटीको पहिलो बैठकले महासचिवमा मदन भण्डारी निर्वाचित गरेको थिए। ५ सदस्यीय पोलिटब्युरो पनि गठन गरेको थियो।

पोलिटब्युरोमा माधवकुमार नेपाल, जीवराज आश्रित, झलनाथ  खनाल, अमृत बोहरा र चन्द्रप्रकाश मैनाली (सिपी) चुनिएका थिए।

बैठकपछि एमालेले हिरक स्तम्भको शिलान्यास गर्ने कार्यक्रम राखेको छ। स्तम्भमा सुखानी, छिन्ताङका सहिदहरूको नाम लेख्ने एमालेले जानकारी दिएको छ। एमालेले तत्कालीन मालेको चौथो महाधिवेशन सम्पन्न गर्न सहयोग पुर्‍याउने त्यहाँका स्थानीयहरूलाई सम्मान गर्ने तयारी गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार