काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले संविधानको मर्मविपरीत उपराष्ट्रपतिमा पुरुषलाई उम्मेदवार बनाइएको भन्दै असन्तुष्टि पोखेका छन् ।
ललितपुरस्थित पार्टी मुख्यालयमा आज (मंगलबार) उपराष्ट्रपति निर्वाचनलाई लक्षित गरी आयोजित संघीय सांसद र प्रदेशसभा सदस्यहरुलाई गरिएको प्रशिक्षणमा ओलीले संवैधानिक व्यवस्थालाई १० दलीय गठबन्धनले अवज्ञा गरेको आरोप लगाए ।
उनले प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत पाएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने विषय हास्यास्पद रहेको टिप्पणी गरे । मत नदिने डरले दाहालले पहिल्यै विश्वासको मत लिन नसकेको ओलीको आरोप छ ।
कुनै एउटा दलले सरकारलार्इ दिएको समर्थन फिर्ता लिए विश्वासको मत लिनुपर्ने संविधानको व्याख्यालाई सत्ता गठबन्धनले अपव्याख्या गर्ने गरेको ओलीको भनाइ छ । एमाले उपाध्यक्ष एवं उपराष्ट्रपति उम्मेदवार अष्टलक्ष्मी शाक्यले राष्ट्रपति र उपराष्ट्रपतिमध्ये एकमा महिला अनिवार्य हुनुपर्ने जिकिर गरिन् ।
उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते हुँदै छ ।